नेपाली राष्ट्रिय टिम भूकम्पपछि पहिलो पटक दशरथ रंगशालामा उत्रँदै

काठमाडौं । थ्री नेसन्स कप फुटबलमा नेपालले बिहीबार (भाेली) कीर्गिस्तानसँग खेल्दैछ । कीर्गिस्तानलाई पराजित गरे नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ । प्रतियाेगितामा नेपालले आफ्नो पहिलो खेल कीर्गिस्तानको यु-२३ टिमसँग खेल्न लागेकाे हाे ।

बिहीबारकाे खेल नेपालले जिते नेपासंगै बंगलादेश पनि फाइनल पुग्नेछ । कीर्गिस्तान भने प्रतियोगिताबाटै बाहिरिनेछ । पहिलाे खेल हारेकाे कीर्गिस्तानकाे युवा टिम पनि नेपाललाई पराजित गर्दै फाइनल पुग्ने आफ्नो यात्रालाई कायमै राख्न चाहन्छ ।

खेल दशरथ रंगशालामा  बेलुका ५:३० बजे सुरु हुने छ ।

प्रतियाेगिता खेल्न आइलिग खेलिरहेका गाेलकीपर किरण चेम्जोङ र फरवार्ड अभिषेक रिजाल नेपाल आइसकेका छन् । नेपालले किरणकै कप्तानीमा प्रतियोगिता खेल्न लागेको हो ।

लामो समयदेखि तयारी गरिरहेको कारण नतिजा राम्रो आउनेमा प्रशिक्षक बालगोपाल महर्जन ढुक्क छन् । प्रशिक्षक महर्जनले भनेका छन्, ‘राम्रो खेलपछि नतिजा त अवश्य पनि आइ नै हाल्छ । विश्वकप छनोट खेलको तयारीका रुपमा नै यसलाई लिएका छौं । विश्वकप छनोटकै लागि तीन महिनादेखि गरिरहेको तयारीका कारण यो प्रतियोगितामा राम्रो गर्नेछौं भन्ने विश्वास छ ।’

यता, कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बंगलादेशविरुद्ध खेलाडीबीच तालमेल नमिल्दा हार भोगेको बताउँदै नेपालविरुद्धको खेलमा भने कमजोरी सुधार गर्ने बताए ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल १६ गते दशरथ रंगशालामा नै हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन् ।

१२ हजार दर्शक, कोरोनाको मापदण्ड ?

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल हेर्न १२ हजार दर्शकलाई रंगशालामा प्रवेश गर्न दिने जनाएकाे छ । तर पछिल्लो समय कोभिड-१९ को झनै संक्रमण बढेपछि कति दर्शकलाई रंगशालामा प्रवेश गराउने भन्ने अन्यौल छ ।

गत चैत ८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  भारतमा काेभिड संक्रमणको संख्या ह्वातै बढेको र नेपालमा यसको असर पर्ने भन्दै विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक‚ भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्न आग्रह गरेकाे छ ।

दशरथ रंगशालाको क्षमता १५ हजारको हो । तीन हजार  सिट भने सामाजिक दूरी कायम राख्न  छुट्याइएको एन्फाले जनाएको छ । एन्फाका प्रवक्ता किरण राई भन्छन्, ‘१५ हजारमा १२ हजार मात्रै दर्शकलाई पव्रेश गराउँदा तीन हजार सिट खाली रहन्छ । यसले सामाजिक दूरी कायम हुन्छ ।’

एन्फाले कोरोना संक्रमण हुनबाट बच्न रंगशालामा जाने सबैले अनिवार्य मास्क र स्यानिटाइजर लगाउनुपर्ने सर्त राखेको छ । त्यस्तै, तापक्रम नाप्न र सामाजिक दूरी कायम गरी बस्न समेत सबैलाई एन्फाले आग्रह गरेको छ ।

२०७२ सालको भूकम्पपछि नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि १३ औं सागको पुरुष फुटबलमा नेपालले त्यही रंगशालामा स्वर्ण पदक जितेपनि त्यो बेला यु–२३ टिम सहभागी भएको थियो। लामो समयपछि दशरथ रंगशालामा खेल्न खेलाडीहरु उत्साहित देखिन्छन् ।

‘लामो समयपछि दशरथ रंगशालामा खेल्दैछौं। कोभिडको समयपछि दर्शकसहित रंगशालामा खेल हुँदैछ । त्यसैले हामी सबै जनामा नयाँ उर्जा बढेको छ’, उपकप्तान रोहित चन्दले भने ।

१६ गतेसम्म हुने थ्री नेसन्स कपको लागि रंगशालाको भिआइपीतर्फको प्याराफिटमा टिकट दर १५ सय  र सामान्य प्याराफिटतर्फ ७ सय रुपैयाँ तोकेको छ । भिआइपीतर्फ प्रत्येक खेलमा १५ सय वटा टिकट र सामान्यतर्फ १० हजार ५ सय वटा टिकट बेच्ने एन्फाले जनाएकाे छ ।

टिकट दर महंगो भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपनि टिकटको मूल्य नघटाउने एन्फाले  जनाएको छ । प्रतियाेगिताबाट डेढ करोड रुपैयाँ आम्दानी  गर्ने र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरेको  पनि एन्फाले जनाएकाे छ । बचेको ५० लाख रुपैयाँ नेपाली फुटबलको विकासमा काम गर्ने एन्फाले जनाएकाे छ ।

सम्बन्धित समाचार

थ्री नेसन्स कपका लागि नेपाली टिम घोषणा

प्रतिक्रिया