विद्यालयमा हुने ‘मौन बलात्कार’

- मनिषा पौडेल
बानेश्वरको एक चिया पसलमा शिक्षकहरूको चिया गफले ध्यान तान्यो । गफले शिक्षक नै हो भन्ने पत्ता लगाउन धेरै मुश्किल परेन । कुन विद्यालयको हो भन्ने पत्ता लगाउन भने सकिनँ । गफको विषयवस्तु कक्षा १० मा अध्ययन गर्ने एक छात्रा बनेकी थिइन् ।
ती शिक्षकहरू आफूले पढाउने एक छात्राको फिगरको बारेमा चर्चा गरिरहेका थिए । बेलाबेलामा अश्लील शब्द पनि प्रयोग गरिरहेका थिए । कुराकानीमा प्रयुक्त शब्दद्वारा नै एक बालिकाको बलात्कार भइरहेको थियो । र बलात्कार गरिरहेका थिए उनकै ‘शिक्षक’हरू । सुन्न गाह्रो भयो । त्यहाँबाट निस्किएँ ।
त्यो कुरा मानसपटलमा घुमिरह्यो । आफू विद्यार्थी हुँदाका धेरै घटना आँखा अगाडि आए । ९ वर्षको हुँदो हुँ । ४ कक्षामा पढ्थें ।
एक शिक्षकले सधैं कति राम्री नानी भन्दै दाह्री दलिदिन्थे । सानै बेला के उद्देश्यले त्यसो गर्थे थाहै भएन‚ वास्तै गरिएन ।
एकदिन अत्ति भयो । ती शिक्षकले भर्खरै काटेर उम्रिदै गरेको दाह्री भएको गाला मेरो गालामा जोडले रगडिदिए । मेरो गाला बेस्सरी कोर्यो । दुख्यो पनि । रुन सकिनँ । शिक्षकलाई प्रतिवाद गर्ने हिम्मत नै कहाँ होेस् र ? चुप लागेर बसें ।
घर पुग्नेबित्तिकै आमाले सोध्नुभयो ‘गालामा के भयो छोरी ?’ सुरुमा झुट बोल्न खोजेँ । केही भएको छैन आमा । गाला मुसार्दै आमाले ऐसेलुको काँडाले कोरेको होकी भनेर सोधिरहेपछि लुकाएर सुखै पाइनँ । भनिदिए ‘फलानो सरले दारी दलिदिनुभयो ।’
आमा रीसले चुर हुँदै विद्यालय पुग्नुभयो । अबदेखि छोरी विद्यालय नै पठाउदिनँ भन्नुभएछ । ती शिक्षकलाई माफी पनि माग्न लगाएछन् । पछि ती शिक्षकले मेरो गृहकार्यसमेत राम्रोसँग जाँच्न छाडे । मलाई उनको व्यवहारले पठनपाठनमा समेत असर पुर्यायो । तर पढ्नु त थियो नै ।
७ कक्षामा फेरि अर्को घटना भयो । सर्ट र फ्रक विद्यालयले तोकिदिएको पोशाक थियो । सर्टको अगाडि एउटा सानो खल्ती हुन्थ्यो । ७ कक्षाको सुरुदेखि नै अङ्ग्रेजी पढाउने शिक्षकले त्यो खल्तीमा हात हाल्थे । साह्रै असहज महशुस हुन्थ्यो । केही भन्न सक्दैनथेँ ।
एक दिन होइन‚ दुई दिन होइन सधैं उनले यो काम दाहोर्याउन थाले । एकदिन साथीलाई भनेँ । साथीले मेरो कुरा सुनी । अनि, सरको बारेमा नराम्रो भन्नु हुँदैन भनेर डर देखाई । प्रतिवाद गर्न नसकेकै कारण ती शिक्षकको दुर्व्यवहार एक वर्षभरी झेल्नुपर्यो । ८ कक्षामा आमासँग खल्ती नभएको अर्को सर्ट सिलाइदिनु भनेर झगडा गरेँ । आमाले बल्लतल्ल नयाँ सर्ट सिलाइदिनुभयो । त्यसपछि ती ‘शिक्षक’को दुष्ट कर्मबाट बँचियो ।
कस्तो बेला हिंसा झेल्नुपर्यो भने‚ जतिबेला त्यो हिंसा हो दुर्व्यवहार हो भन्ने नै थाहा थिएन । यतिमात्र थाहा थियो की यी मान्छेको व्यवहारले मलाई असहज महशुस भइरहेको छ । थाहा पाउने भइसकेपछि पनि शिक्षकले चस्मा नाकको तलतिर सारेर माथिल्लो भागबाट हेर्ने अश्लिल हेराइको शिकार त कति भइयो कति । न कसैलाई सुनाउन सकिन्थ्यो न त विरोधमा आवाज उठाउन नै ।
यो विद्यालयमा भएको हिंसाको प्रतिनिधि घटनामात्र हो । विद्यालयमा त्यस्ता कयौँ शारीरिक, मानसिक र यौनजन्य हिंसा हुन्छन्‚ जुन विद्यार्थीले कसैलाई व्यक्त गर्न सकिरहेका हुँदैनन् । अहिले त विद्यालयले नै साना विद्यार्थीलाई असल छुवाइ र खराब छुवाइ ‘गुडटच र ब्याडटच’बारे विद्यालयमा पढाउन र सिकाउन सुरु गरेका छन् ।
बानेश्वरको चिया पसलमा ती शिक्षकको कुरा सुनेपछि सोचें ‘गुडटच ब्याडटच’ बारेका सिकाइले कसरी सार्थकता पाउला जब एउटा शिक्षक नै खुलेआम चिया पसलमा बसेर विद्यार्थीको फिगरको बारेमा चर्चा गर्छ ?
अझै पनि धेरै बालबालिका र विद्यार्थी यस्ता घटना सहन बाध्य छन् । उनीहरू यसबारे कसैलाई भन्न सक्दैनन् । समाजका यस्ता घटना पनि बाहिर आउन जरुरी छ । जसरी बलात्कारका घटना बाहिरिन्छन् । त्यसको विरोधमा आन्दोलन र धर्ना हुन्छ ।
हो‚ त्यसरी नै यस्ता घटनालाई पनि अगाडि ल्याउन जरुरी छ । नत्र पुस्तकको भारी बोकेर सुनौलो भविष्य निर्माणको आशामा विद्यालय जाने बालबालिकाको सपना ननिमोठिएलान् भन्न सकिँदैन ।








