आफ्नै नयाँ सामाजिक सञ्जाल बनाउँदै डोनल्ड ट्रम्प

काठमाडाैँ । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प चाँडै नै नयाँ प्लेटफर्ममार्फत् सामाजिक सञ्जालमा फर्किने उनका सल्लाहकारले बताएका छन् ।
‘मलाई लाग्छ हामी राष्ट्रपति ट्रम्पलाई दुईदेखि तीन महिनामा सामाजिक सञ्जालमा फर्किएको देख्नेछौँ,’ जेसन मिलरले फक्स न्यूजलाई बताए । मिलरले त्यो माध्यम सामाजिक सञ्जालमा सबैभन्दा चर्चित हुने र त्यसले सामाजिक सञ्जाल प्रयोगलाई ‘पुनर्परिभाषित’ गर्ने बताए ।
ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्रम्पलाई ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएका छन् । सो आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो । ट्रम्पले थप हिंसाका लागि उकास्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्टलाई स्थायी निलम्बन गरेको बताएको थियो ।
ट्रम्पले १० वर्ष मूलधारका सञ्चारमाध्यमलाई बेवास्ता गर्दै मतदाताहरूमाझ प्रत्यक्ष कुरा राख्न ट्विटरको प्रयोग गरेका थिए । उनका नौ करोड फलोअर्स थिए । ट्रम्प कुन प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किन्छन् भन्ने स्पष्ट छैन ।
मिलरले त्यसबारे कुनै जानकारी नदिई सबै जना राष्ट्रपति ट्रम्पले के गर्छन् भन्ने हेर्न कुरिरहेको बताए । उनले ट्रम्पले फ्लोरिडामा यसबारे केही उच्चस्तरीय बैठक गरेको र थुप्रै कम्पनीले ट्रम्पलाई यस विषयमा सम्पर्क गरिसकेको बताए ।
‘यो नयाँ प्लेटफर्म ठूलो हुनेवाला छ,’ ट्रम्पले करोडौँ व्यक्तिलाई सो प्लेटफर्ममा आकर्षित गर्ने बताउँदै मिलरले भने । –बीबीसी








