घरेलु मैदानमा युभेन्टस पराजित

काठमाडौं । साविक विजेता युभेन्टस इटालियन सिरि ए फुटबलमा पराजित भएको छ । आइतबार राति भएको खेलमा बेनेभेन्टोसँग युभेन्टस १-० गोलले स्तब्ध बनेको हो ।
आफ्नै मैदानमा बेनेभेन्टोसँग पराजित भएपछि युभेन्टसको उपाधि यात्रामा केही धक्का लागेको छ । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ६३ औं मिनेटमा एडोल्फो गइचले गोल गर्दै बेनेभेन्टोलाई १-० गोलको जित दिलाए ।
आइतबार राति नै भएको अर्को खेलमा एसी मिलानले फिरोन्टिनालाई ३-२ गोलअन्तरले पराजित गरेको छ । यता, नापोलीले रोमालाई २-० गोलले हराउँदा एटलान्टाले पनि हेलास भरोनालाई २-० गोलले नै पराजित गरेको छ । लाजियोले उडिनेसलाई १-० ले पराजित गर्दा टोरिनो भने साम्पडोरियासँग १-० ले हारेको छ ।
हारसँगै युभेन्टसको २७ खेलबाट ५५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको २७ खेलबाट ६५ अंक हुँदा दोस्रो स्थानको एसी मिलानको २८ खेलबाट ५९ अंक छ ।








