हिजो हामी को कहाँ थियौँ, त्यो महत्वपूर्ण होइन : रायमाझी [भिडिओसहित]

काठमाडौं । पूर्वमाओवादी (हाल एमाले) नेता टोपबहादुर रायमाझीले हिजो लडाइँका क्षेत्रबाट आएका नेताहरुमा लडाइँकै धङधङी रहिरहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले यस्तो बताएका हुन् । ‘हिजो लडाइँका क्षेत्रबाट आएकाहरुमा लडाइँकै धङधङी छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै रायमाझीले भने, ‘अझै केही अवेशषहरु देखिँदैछ । र, त्यो देखिनुलाई स्वभाविक रुपमा लिनुपर्छ ।’

अबका दिनमा वैचारिक लडाइँको आवश्यक्ता रहेको औंल्याएका रायमाझीले थपे, ‘हिजो हामी को कहाँ थियौँ त्यो महत्वपूर्ण होइन, आजको सही के हो त्यो चाहिँ महत्वपूर्ण कुरा हो ।’

सही र गलत छुटाउने जिम्मा जनताको भएको नेता रायमाझीको भनाइ थियो । ‘कुन दल, नेतृत्व र वादीले मुलुकलाई समृद्धितर्फ लान्छ,’ नेता रायमाझीले भने, ‘हामीले छुटाउन सक्नुपर्छ । अरुको कठपुतली बनेर हुँदैन ।’

रायमाझीलाई गत फागुन २३ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया