यसकारण सर्‍यो ‘२ नम्बरी’ छायाङ्कन

काठमाडौँ । चलचित्र ‘२ नम्बरी’ को छायाङ्कन सरेको छ । बाँकी  छायाङ्कन यही चैतको दोस्रो साताबाट  अगाडी बढाउने भनिएकोमा अब भदौबाट मात्रै चलचित्र फ्लोरमा जाने भएको हो ।

चलचित्रकी नायिका उगेन छोदन आफ्नो घर भुटानमा छिन् । लकडाउनका बेला उनी घर फर्किएकी हुन् । उनी तत्कालै नेपाल फर्किन सम्भव नभएपछि चलचित्रको छायाङ्कन रोकिएको हो ।

नेपालमा विदेशीले आउँदा लिनुपर्ने अनअराइभल भिसा हाललाई बन्द गरिएको छ । त्यस्तै भुटानबाट सिधा नेपाल आउने वायुसेवा समेत बन्द छ । भारत भएर आउँदा एक हप्ता कुर्नु पर्ने हुन्छ । त्यो एक हप्तामा यताका कलाकार तथा प्राविधिकको अर्को काम सुरु हुन्छ । चलचित्रको छायाँकारदेखि कलाकारसमेत व्यस्त छन् ।

चलचित्रको निर्मातामा रोहित कट्टेल, सरोज नेपाली र दीपक मनाङे छन् । कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सहायक निर्माता अमलादेवी राई छिन् । चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्धि तामाङ र भुटानी अभिनेत्री उगेन छोदनको मुख्य भूमिका रहेको छ । दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली छन् ।

प्रतिक्रिया