कमेडी च्याम्पियनका ‘कमेडी’ पात्र पुष्पराज

दिक्षा कट्टेल 

काठमाडौं । बालख बेला, अर्थात् उटपट्याङ् गरिरहन मन लाग्ने । पुष्प र उनका दाजु मिलेर घरमा उपद्रो गरिरहन्थे । एक दिन ठुलै उपद्रो गरेपछि काकाले सिर्कनु लिएर कुट्न आए । कुट्न आएका काकालाई दाजुले अपशब्द बोले । काका कडा मिजासका थिए । पुष्पलाई अब बाँच्न सकिँदैन भन्ने लाग्यो ।
पुष्पले मरेको झैँ अभिनय गरे । उनको अभिनय यति ‘नेचुरल’ देखियो की काका नै आत्तिए । कुट्न आएका काकाको रिस आतेशमा बदलियो । काकालाई के गरौँ कसो गरौँ भन्ने भएका बेला उनी जुरुक्क उठे र भागे ।
धनकुटाका पुष्पराज ओझा कमेडी च्याम्पियनमा बीबीसीमा कार्यरत जनकपुरका पत्रकार वृजकुमार यादव र प्रधानमन्त्री केपी शर्मा ओलीको आवाजको नक्कल गरेर चर्चामा आएका प्रतियोगी हुन् । आफ्नै विषयमा आफूलाई समेत ब्यङ्ग्य गर्दै गरेको उनको प्रस्तुतिले ‘गोल्डने की’ अर्थात सुनौलो साँचो नै दिलायो । तर यो साँचोले अझ बढी जिम्मेवारी बढेको ठान्छन् उनी, ‘भारी थपिए जस्तो भयो अब राम्रो नगरि नुहने भयो, सकेसम्म राम्रो गर्नेछु ।’ मकालु खबरसँग उनले भने ।

सानैदेखिको रमाइलो स्वभाव अझै गएको छैन पुष्पराजको । छुल्याइँ गरिरहन पर्छ । साथी भाइलाई बोलाउने, जिस्क्याउने, चल्ने, छुकछुक गरिरहने अर्थात् चुप लागेर बस्नै नसक्ने ।

उनको यही बानीले केटाकेटीदेखि बुढाबुढीसम्मलाई उनी आफुतिर आकर्षित गर्न सक्छन् । अलिक फरक प्रकृत्तिको मानिसलाई पनि उनि आफ्नो नजिक पारिहाल्न सक्छन् । अस्त्र उही, चटपटे पारा र हँसिलो स्वभाव । घर परिवार, कार्यालय हुँदै कमेडी च्याम्पियनको होस्टेलसम्म पनि उनको यो जादु छरिएकै छ । यसैले उनी सबैका प्रिय बनेका छन् ।

एकदिन घरमा सबैजना गफ गर्दै बसिरहेका बेला आमाले अचानक भन्न्भयो ‘ए कुकुर आयो धपा धपा’ । बेलुकीपख कुराकानी भइरहेका बेला उनले कुकुरको आवाज निकालेका थिए । आमाले साँच्चैको कुकुर आएको भन्ठानेर धपाउन उनैलाई लगाएकी थिइन् । यस्ता रमाइला क्षणको सङ्ग्रह नै छ उनीसँग ।

कमेडी च्याम्पियन २ को डिजिटल अडिसनको मिति सकिनै लागेको रहेछ । साथी कुमार पौडेलले भिडियो पठाउन सुझाए । उनले तत्कालै पठाए र फिजिकल अडिसनका लागि छानिए ।

अडिसनका लागि सुझाउने कुमार सङ्गै भएका बेला उनी च्याम्पियनका लागि छानिएको खबर आयो ।
पहिलो सिजनका बारेमा उनलाई शुरुमा थाहै भएन । दुई सुमन (सुमन कार्की र सुमन कोइराला) को चर्चित प्रस्तुति हेरेपछि मात्र कमेडी च्याम्पियनको विषयमा जानकारी पाएको उनी बताउँछन् । उनलाई पहिलो च्याम्पियनका यी दुई प्रतिस्पर्धी नै प्रिय पनि लाग्दारहेछन् ।

उनले डिजिटल अडिसनका लागि कोभिड १९ का बेलाका भोगाइ र नेताहरूको क्यारिकेचरको भिडियो पठाएका थिए । सारा संसार घर भित्र सुरक्षित बसिरहेको बेला पेसागत दायित्व सम्हाल्दै उनी र उनको समूह २४ सै घण्टा खटिएको थियो काममा । यो अनुभवले समेत उनलाई कन्टेन्ट निर्माणमा सहयोग ग¥यो ।
पुष्पराज ताङ्खुवा स्वास्थ्य चौकी छ्थर जोरपाटी ३ चुलाचुली धनकुटाका इन्चार्ज र सिनियर अहेव हुन् ।
पुष्पराजले कमेडि च्याम्पियनमा सहभागि भइरहेको यो समय आफ्नो सञ्चित बिदाबाट काटिइरहेको बताए । सञ्चित बिदाले प्रतियोगिताभरि पुग्ने उनले बताए । जुनसुकै पेशाका व्यक्तिले पनि हांयब्यंग्य गर्न सक्छन् भन्ने पुष्टि गर्न पनि आफु कमेडि च्याम्पियनमा सहभागी भएको बताउँछन् ।

च्याम्पियनको ग्राण्ड प्रिमियरमा देखाइएको दृश्यमा ओझाको प्रस्तुति नभए पनि उनी ‘नोटिस’ भने हुन्छन् । उनको हाउभाउ, आफ्नै प्रतिस्पर्धी साथीको प्रस्तुतीमा मज्जा लिइरहेको र उनीहरूलाई समर्थन गरेको दृष्य हेर्दा मज्जा लाग्छ । होस्टेलभित्रदेखि रिहर्सलसम्म उनी ‘जहाँ पनि रमाईहाल्ने, माहोल जमाईहाल्ने’ खालका देखिन्छन् । उनको क्रियाकलाप र हाउभाउले पनि वरपरका व्यक्तिलाई रमाइलो लाग्ने देखिन्छ ।

विजेता बन्नुहुन्छ त ? उनको उत्तर चाखलाग्दो छ ‘म त यसै पनि एउटा क्षेत्रमा स्थापित भैसकेको छु । यो उपाधि मभन्दा अरूको लागि जरुरी छ ।’ यस्तो कुटनीतिक उत्तर आफुले जित्दिन भनेर त होइन नि ? मुस्कुराउँदै जवाफ दिन्छन्,‘अब कार, २५ लाख पाइयो भने नराम्रो त के हुन्छ र ? तर अहिले नै त्यति माथिसम्म सोच्दिन म ।’ जजले आफ्नो प्रस्तुति मन पराएको, साथीहरुले पनि ‘इन्जोय’ गरेको अनि अरुहरुले पनि राम्रो छ भन्ने गरेकोमा नै आफुलाई आनन्द लागेको उनी बताउँछन् ।

उनको घरमा हजुरबुवा, बुवा, आमा श्रीमती र भर्खरै ९ महिना टेकेकी छोरी छन् । ‘घरबाट सबैको पूर्ण समर्थन छ’ फोन गरिरहनु हुन्छ, मज्जाले हँसाउनु है भन्नुहुन्छ ।’ अनुहार हँसिलो पार्दै उनी सुनाउँछन् ।
पुष्पराजकी श्रीमती पनि स्वास्थ्यकर्मी नै हुन् ।

धनकुटामा औषधि पसल चलाउँथे पुष्प त्यो बेला । उनकी साथीको साथमा पसलमा आइन् अप्सरा दाहाल । त्यहीँबाट शुरु भयो उनीहरुको प्रेमको अङ्कुरण । केही समयको प्रेम पछि उनीहरुले विवाह गरे । ‘कमेडी गरेरै मख्ख बनाउनुभयो होला नि ?’ जसले पनि उनलाई यसै भन्छ– तर उनको जवाफ साहित्यिक हुन्छ – ‘सरर हावा चलेको थियो, फूलको बास्ना फैलिएको थियो…।’

आफ्नो ‘भीमकाय’ शरीरका कारण धेरै रमाइला कुरा पनि भएका उनी सुनाउँछन् । विहेको दिन पुष्प दौरा सुरुवालमा सजिएर दुलही लिन जाँदै थिए । घरबाट आधाघण्टा जति माथि पुगेपछि एक जना दाईले अत्तालिंदै श्रीमतीलाई बोलाए, ‘ओए बुढी, ओए बुढी यता आइज न यता …. आम्मामा कत्रो बेहुलो हो…।’

हुनपनि पुष्प ठुलो ज्यानका छन् । ६ फिट एक इन्च अग्ला उनको तौल १०८ किलो छ । तर यत्रो ठुलो ज्यान देखेर शुरुमा डराउने मान्छेलाई पनि उनीसँग एकछिन सङ्गत गर्नासाथ हाँसो ठट्टा र मिसाजिलो स्वभावले लठ्याइहाल्छन् ।

बृजकुमार यादवको बोलीको नक्कल उनले निकै लामो प्रयास र अभ्यासपछि मात्र बनाउन सकेका हुन् । अबका प्रस्तुतिमा पनि ‘लाउड क्यारेक्टर’ गर्दा यही शैली अपनाउने उनले बताए । तर त्यो पात्र को हुनेछ भन्नेबारे भने उनले धेरै खुलाउन चाहेनन् ।

उनले खुलाउन नचाहेको उनले क्यारिकेचर गर्ने त्यो पात्र को होला त ? पर्खिनुको विकल्प के छ र ?

प्रतिक्रिया