खाँणको प्रश्न– प्रधानमन्त्रीको तीन महिना खै ?

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले ‘अबको तीन महिनाभित्र सबै नेपालीले खोप पाउँछन्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् ।
शुक्रबार संसद बैठकलाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीजीले यहीँबाट अबको तीन महिनाभित्र सबै नेपालीले खोप पाउँछन् भनेर भन्नुभएको थियो,’ नेता खाँणले भने, ‘कुन चाहिँ वर्षको तीन महिना हो ? ७७ को तीन महिना कि ? ७८ को तीन महिना कि ? ७९ को तीन महिना कि ? कि सीमै नभएको तीन महिना ?’
यस्तै नेता खाँणले मेलम्ची खानेपानी आयोजनाको श्रेय नेपाली कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई दिनुपर्ने बताए । ‘मेलम्ची आयोजनाको श्रेय त कृष्णप्रसाद भट्टराईलाई हुनुपर्ने हो नि,’ नेता खाँणले भने, ‘तर, खै कतैपनि कृष्णप्रसाद भट्टराईको नाम आएन । सुन्दरीजलमा पनि छैन । बानेश्वरमा पनि छैन ।’








