आइन्स्टाइनको जीवनको ‘अँध्यारो पाटो’

हरेकको जीवनमा दुई पाटा हुने गर्छन्- देखिने र नदेखिने । देखिएको पाटोलाई सबैले विश्लेषण गर्छन्, मूल्यांकन गर्छन् । तर, नदेखिएको पाटोका कुरा छेलिन्छन् ।
‘भाैतिक विज्ञानका पिता’ अल्बर्ट आइन्स्टाइनको पनि जीवनमा यस्तै दुई पाटा थिए । एउटा पाटो, जसलाई संसारले जान्यो, पढ्यो, व्यवहारमा उतार्यो । दुनियाका लागि आइन्स्टाइनले गरेका काम, प्रतिपादन गरेका सिद्धान्तले खुसी छाड्यो । तर, उनको आफ्नै जीवनमा भने उनले धेरै नै उतारचढाव व्यहोर्नुपर्यो । विज्ञानको दुनियामा बादशाह हुँदै गर्दा आइन्स्टाइनले पारिवारिक रुपमा भने निकै नै कष्टपूर्ण जीवन व्यतित गर्नुपर्यो । जीवनको अन्तिम क्षणसम्म पनि आफ्ना प्यारा सन्तानबाट टाढा रहनुपर्दाको क्षणको बारेमा बिबिसी हिन्दीले तयार पारेको लेखकाे भावानुवाद ।
अल्बर्ट आइन्साइनका सबैभन्दा कान्छो छोराको नाम थियो- एडुआर्ड । मान्छेहरू उनलाई मायाले टेटे भनेर बोलाउने गर्थे ।
बाल्यकालमा उनलाई फोक्सोसम्बन्धि समस्या थियो । पछि आफ्नो युवावस्थामा नै उनले मानसिक समस्या झेल्नुपर्यो ।
आइन्स्टाइनको जीवनलाई नजिकबाट नियाल्ने रोसेन्क्रोजले बिबिसीसँग भनेका छन्, ‘आइन्सटाइनको जीवन एकदम कष्टप्रद थियो।’
आइन्सटाइनकी पहिली पत्नी मिलेवा मारिकसँगै उनका दुई बच्चा पनि थिए ।
उनीहरूको पहिलो सन्तानको जीवन रहस्यमय नै रह्यो भने दोस्रो सन्तान आफैंले आफ्नो जीवनबारे पुस्तक लेखेका छन् ।
आइन्स्टाइनका छोरा हंस अल्बर्ट भन्छन्, ‘बुबाले अनेकौं असफलता व्यहोरे पनि उहाँ हरेक समस्याको समाधानका लागि हरक्षण तल्लीन हुनुहुन्थ्यो । त्यसकारण पनि उहाँ अरूभन्दा असाधारण हुनुहुन्थ्यो । बुबाले आफूले गरेको कामको नतिजा प्रतिकूल आएपनि कहिले पनि हिम्मत हार्नुभएन ।’
उनी भन्छन्, ‘मलाई सुधार्ने विषयमा भने उहाँ असफल नै रहनुभयो । उहाँले मलाई सल्लाह दिने अनेकन प्रयास नगर्नुभएको पनि होइन, तर अति भएपछि बुबालाई पनि अब यसलाई जति भने पनि लाग्दैन भनेजस्तो लाग्यो होला ।’
पहिली सन्तान लिसेर्ल
सन् १९०२ मा लिसेर्लले आइन्स्टाइनको पहिलो सन्तानका रुपमा जन्म लिएकी थिइन् । रोसेन्क्रज भन्छन्, ‘त्यसको दुई वर्षपछि उनीमाथि के भयो भन्ने विषय हराएको इतिहासजस्तो भइसक्यो ।’ त्यसताका यो विषयलाई लिएर धेरै मानिसले धेरै किसिमका व्यक्तिगत धारणासमेत बनाएका थिए ।
कतिपयले त आइन्स्टाइनले आफ्नी छोरीको स्याहार गर्न कसैको जिम्मा लगाएर पठाएको र त्यहीँ नै उनको मृत्यु भएको भनी हल्लासमेत फैलाएका थिए ।
आइन्सटाइन पेपर प्रोजेक्टअन्तर्गत उनको जिन्दगीसँग जोडिएका महत्त्वपूर्ण दस्तावेज र पत्रहरू समेटिएका छन् । उनको जीवनलाई नजिकबाट बुझ्न यि दस्तावेज र पत्रहरू महत्वपूर्ण छन् । यही दस्तावेजमा लिसेर्ल जीवितै भएको उल्लेखसमेत गरिएको थियो ।
आइन्स्टाइनले स्विटजरल्यान्डबाट मिलेवालाई पठाएको एक पत्रमा लेखेका थिए, ‘छोरी सञ्चै छिन् ? रुन्छिन् ? उनका आँखा कस्ता छन् ? उनको अनुहार हामीमध्ये कोसँग धेरै मिल्छ ? उनलाई कसले स्तनपान गराउँछ ? भोकाएकी त छैनन् ? अहिले त राम्रोसँग उसको टाउकोमा कपाल उम्रिएका पनि छैन होला । अहिले त म उनलाई देख्दा चिन्दा पनि चिन्दिन होला तर पनि म उसलाई धेरै माया गर्छु ।’
मिलेवाले जब पहिलो छोरी जन्माइन्, त्यसबेला उनी आइन्स्टाइन भएको ठाउँबाट धेरै टाढा सर्बिया भन्ने ठाउँमा थिइन् ।
गर्भावस्था
वाल्टर इसाकसले आइन्सटाइनले उनकी पत्नी मिलेवालाई लेखेको पत्रको अंश प्रकाशित गरेका थिए ।
तर मिलेवाले बच्चालाई जन्म दिनेबेला किन स्विट्जरल्यान्ड छाडेर आफ्ना परिवारसँग गएकी थिइन् ? भरखरै आइन्सटाइको विषयमा लेखिएको एक पुस्तक आइन्सटाइन अन आइन्सटाइनका लेखक हनक गटफ्रेन्डले यसबारे अझ प्रष्ट्याउँदै दाबी गरेका छन्, ‘आइन्सटाइनकी आमा उनको विवाहप्रति सन्तुष्ट थिइनन् ।’
उनले अप्रत्यक्ष रूपबाट आफ्नो छोरालाई मिलेवासँग विवाह गरेमा उसको भविष्य बर्बाद हुने बताउँदै आएकी थिइन् । त्यसैले आमाले यदि मिलेवा गर्भवती भइन् भने त्यसको परिणाम राम्रो नहुनेसमेत बताएकी थिइन् । त्यो बेला विवाहभन्दा अगाडि नै गर्भवती हुनु सामान्य विषय थिएन ।
तर मिलेवा र आइन्स्टाइन एकअर्कालाई प्रेम गर्थे । आइन्स्टाइन १९ र मिलेवा २३ वर्षको हुँदादेखि नै उनीहरू प्रेममा थिए भन्ने गरिन्छ ।

जूरिक पोलिटेक्निक इन्स्टिच्युटमा पढ्दा साथी बनेका उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको थियो । मिलेवा भौतिक विज्ञानथिन् ।
इसाकसनका अनुसार आइन्स्टाइनले लेखेको पत्रमा मिलेवाप्रति उनको प्रेमका साथै उनकी आमाले मिलेवासँगको सम्बन्धलाई देखाएको घृणा पनि उल्लेख गरेका छन् ।
आइन्स्टाइनले मिलेवालाई एक पत्रमा लेखेका थिए, ‘मेरा आफन्तहरूले मलाई मरेतुल्य सम्झन्छन् । कहिले काहीँ उनीहरू तिमीसँग मैले गरेको प्रेम मेरा लागि दूर्भाग्य सावित हुने कुरासमेत सुनाउँछन् । उनीहरूलाई तिमी ठिक लाग्दैन ।’
तर आइन्स्टाइनले आफ्नो मनको कुरा सुने । उनीहरूबीच प्रेम सम्बन्ध झांगिँदै गयो । मिलेवा अविवाहित अवस्थामै गर्भवती भइन् । डेलिभरीको समयमा आइन्स्टाइन बर्नमा एक सरकारी कार्यालय (अफिस अफ इन्टेलेक्चुअल प्रपर्टी)मा जागिर मिल्ने उत्सुकताका साथ दिन कटाइरहेका थिए । त्यसताका आइन्स्टाइन गणित र विज्ञान विषयको ट्युसन पढाउने गर्थे । यो नोकरीले उनको जीवनमा आर्थिक रुपले देखिएका विचलनहरूमा स्थिरता ल्याउने करिब पक्का थियो ।
मिलेवालाई लेखेको उक्त पत्रमा आइन्स्टाइनले दुवैजना एकैसाथ बस्ने इच्छाका साथै केही चिन्ता पनि व्यक्त गरेका थिए ।
आइन्स्टाइनले लेखेका थिए, ‘अब हाम्री लिसेर्ललाई हामीले कसरी सँगै राख्ने भन्ने एउटैमात्र समस्या हाम्रासामू देखापरेको छ । म चाहन्न कि ऊदेखि म टाढा बसुँ ।’

त्यो बेलाको समाजमा विहे नगरि जन्मिएको बच्चालाई राख्न कत्ति कठिन थियो भन्ने आइन्स्टाइनले राम्रोसँग बुझेका थिए ।
त्यसैले आइन्स्टाइनले आफ्नी छोरी लिसेर्लसँग कहिले पनि भेट्न पाएनन् पनि भन्ने गरिन्छ ।
गटफ्रेन्ड भन्छन्, ‘आइन्स्टाइनले मिलेवालाई पठाएको पत्रबाट मात्रै हामीलाई लिसेर्लको बारेमा थाहा भएको हो । यसबारेमा ठोस कुरा भने अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन् ।’
यही विषयमा अध्ययन गर्न पत्रकार र शोधकर्ताहरू सर्वियासम्म पुगेका थिए । उनीहरूले आइन्स्टाइनका विभिन्न दस्तावेज पनि फेला पारेका थिए, तर त्यसबाट पनि केही ठोस जवाफ पत्ता लाग्न सकेन ।

एक विशेषज्ञ भन्छन्, ‘आइन्स्टाइनले अन्तिम पटक लिसेर्ल २ वर्षकी हुँदा उनका बारेमा पत्रमा लेखेका थिए । लिसेर्ललाई त्यसबेला स्कार्लेट नामक रोगले ग्रसित बनाएको थियो । हामीलाई उनी थिइन् कि थिइनन् भन्नेबारे यकिन जानकारी चाहीँ अझै पनि छैन ।’
त्यस समय यो रोगलाई एक गम्भीर रोगका रुपमा लिइन्थ्यो, अझ अझ कम उमेरकी बच्चीका लागि त यो रोग झनै भयावह निम्त्याउने किसिमको थियो ।
आइन्स्टाइनको मृत्यु सन् १९५५ मा भएको थियो । मृत्युको समयसम्म पनि उनले आफ्नी छोरीको बारेमा केही कुरै नगरेको उनका आफन्तहरू बताउने गर्दथे ।

‘आइन्स्टाइन पेपर प्रोजेक्ट’को टिमले पनि आइन्स्टाइनकी छोरी छिन् भन्ने कुरा उनीहरूले आइन्स्टाइनले मिलेवालाई लेखेको प्रेमपत्र फेला पारेपछि मात्र थाहा पाएका थिए ।
बर्नमा आइन्स्टाइन सरकारी जागिरे भएपछि मिलेवा पनि सन् १९०३ मा त्यहीँ गइन् र उनीहरू दुवैले त्यहीँ नै विवाह गरे । सन् १९०४ मा उनीहरुको दोस्रो सन्तानका रुपमा हंस अल्बर्टको जन्म भयो । त्यस्तै सन् १९१० मा एडुआर्ड जन्मिए । त्यसबेला उनीहरु परिवार जुरिकमा बस्थे ।
इसाकसनका अनुसार हंसले एक अन्तर्वार्तामा भनेका छन्, ‘आमा घरायसी काममा व्यस्त हुने गर्नुहुन्थ्यो भने बुबा घण्टौंसम्म आफ्नो काम छाडेर हाम्रो हेरचाह गर्नुहुन्थ्यो । उहाँले हामीलाई कहानीहरू सुनाएको मलाई अझै पनि याद छ । हामीलाई शान्त राख्न बुबाले भायोलिन बजाउने गर्नुहुन्थ्यो ।’

एडुआर्डको सुरुवाती जीवन कष्टकर रह्यो । उनी गम्भीर प्रकृतिका रोगबाट ग्रसित थिए। आइन्सटाइन इन्साइक्लोपेडियाका अनुसार एडुआर्ड चार वर्षको हुँदा नै हप्तौंसम्म गम्भीर रोगबाट ग्रसित भएर ओछ्यानमा पल्टिरहेका हुन्थे ।
सन् १९१७ मा एडुआर्डको फोक्सो सुन्निएको थियो । आइन्स्टाइनले यही कुरालाई इंगित गर्दै एक साथीलाई लेखेको पत्रमा भनेका थिए, ‘एडुआर्डको स्वास्थ्य देखेर साह्रै खिन्न लाग्छ ।’

एडुआर्डले आफ्ना बुबासँग संगीत र दर्शनशास्त्रमाथि कयौं पटक गम्भीर बहससमेत गरेका थिए ।
आइन्स्टाइन विज्ञानको क्षेत्रमा अघि बढिरहँदा उनको पत्नीसँगको सम्बन्ध पनि बिग्रँदै गएको थियो । परिस्थिति त तब बदलियो जब आइन्स्टाइनको उनकै एक नातेदार बहिनीसँग प्रेम प्रसंग शुरु भयो ।
सन् १९१४ मा आइन्स्टाइनको परिवार बर्लिन गएको थियो । तर आइन्स्टाइनको व्यवहारले गर्दा मिलेवा स्विट्जरल्यान्ड फर्किएकी थिइन् ।
त्यस्तै सन् १९१९ मा दुवैको सम्बन्ध विच्छेद भयो । गटफ्रेन्डका अनुसार आफ्ना सन्तानबाट टाढा हुनु आइन्स्टाइनका लागि कठिन थियो ।

पछिसम्मै पनि आइन्स्टाइन र उनका छोरा एडुआर्डबीच पत्राचार हुने गर्थ्यो । वर्षौंपछि आइन्स्टाइनले एडुआर्डलाई लेखेको पत्रमा उनले आफूले प्रतिपादन गरेको सिद्धान्तको बारेमा वृत्तान्त बताएका थिए ।
आइन्स्टाइनका कान्छा छोरालाई पनि भौतिक विज्ञानमा बढी रुची थियो । उनलाई सन् १९३२ मा स्विट्जरल्यान्डको एक मनोवैज्ञानिक अस्पतालमा भर्ना गराइएको थियो । त्यसताका उनी मेडिसिनको पढाइ गरिरहेका थिए ।
समाचार संस्था गार्डियनका अनुसार आइन्स्टाइनले पछि लेखेका थिए, ‘मेरा लागि सबैभन्दा प्यारो, जसलाई म आफूजस्तै सम्झन्थेँ, उसलाई मानसिक रोगले घेर्यो ।’
पछि सन् १९३३ मा नाजीवादको आतंक बढेसँगै आइन्स्टाइनले जर्मनी छाडेर अमेरिका जाने निधो गरे । अमेरिका प्रस्थान गर्नुअघि आइन्स्टाइन आफ्नो कान्छो छोरोलाई भेट्न अस्पताल पुगेका थिए । कान्छो छोरो एडुआर्डसँग भएको अन्तिम भेट थियो त्यो ।
एडुआर्डको दुःखद् अन्त्य
मिलेवा एडुवार्डलाई घरमै राखेर ख्याल राख्ने गर्थिन् । तर जब एडुआर्डालाई मानसिक रोगले ग्रस्त बनायो, उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आइपर्यो ।

सन् १९४८ मा मिलेवाको मृत्यु भएपछि एडुआर्डको हेरचाह गर्न वैधानिक अभिभावक नियुक्त गरिएको थियो । यसको खर्च आइन्स्टाइन नै तिर्थे ।
रोसेनक्रज भन्छन्, ‘योबेला आइन्स्टाइन र एडुआर्डले पत्र लेखे होलान् जस्तो मलाई लाग्दैन ।’ इसाकसनका अनुसार मानसिक बिरामी भएकाले एडुआर्डलाई अमेरिका जान दिइएको थिएन । उनले अस्पतालको शय्यामै आफ्नो जीवनको अन्तिम श्वास फेर्नुपर्यो । एडुआर्डको ५५ वर्षको उमेरमा सन् १९६५ मा मृत्यु भएको थियो ।
आइन्स्टाइनका तेस्रो सन्तान- हंस अल्बर्ट
सन् १९२४ मा आइन्स्टाइनले लेखेको पत्रमा आफ्नो छोरो प्रथम आएकोमा खुसी व्यक्त गर्दै आफू गौरवान्वित भएको उल्लेख गरेका थिए । उनले लेखेका थिए , ‘मेरो छोरो अल्बर्ट एक सक्षम र इमान्दार व्यक्ति बनेको छ ।’

हंसले सन् १९२६ मा स्नातक गरे र १९३६ मा डाक्टर अफ टेक्निकल साइन्सको उपाधिसमेत हात पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रकाशित उनको संक्षिप्त जीवनीमा लेखिएको छ, ‘डाक्टरेट उपाधिका लागि उनको शोध सेडिमेन्ड ट्रान्सपोर्टमाथि गरिएको महत्त्वपूर्ण काम हो । संसारभरका इन्जिनीयरले यसलाई स्वीकारसमेत गरिसकेका छन् ।’
सन् १९३८ मा आफ्ना बुबा आइन्स्टाइनको सल्लाहमा हंस अमेरिका गए र त्यहाँ पनि उनले सेडिमेन्ड ट्रान्सपोर्टको शोध जारी राखेका थिए ।

सन् १९८८ मा अमेरिकन सोसाइटी अफ इन्जिनीयर्सले हंस अल्बर्टको सम्झनामा एक अवार्डसमेत सुरु गरेको थियो, जुन अवार्ड यस क्षेत्रमा उल्लेखनीय काम गर्नेहरूलाई प्रदान गरिने गरिन्छ ।








