एफसी चितवनकाे प्रशिक्षकमा मेघराज केसी र मार्की खेलाडीमा भरत खवास

काठमाडौं ।नेपाल सुपर लीग (एनएसएल) फुटबलमा एफसी चितवनकाे प्रशिक्षण मेघराज केसीले गर्ने भएका छन् । यस्तै टीमकाे मार्की खेलाडी भरत खवास तय भएका छन् ।

आइएमई ग्रुपअन्तर्गत सञ्चालित गेम अन प्रालिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्दै बुधबार प्रशिक्षक र मार्की खेलाडी घाेषणा गरेकाे हाे ।
मेघराज केसी घरेलु फुटबलमा सफलतम मध्येका एक प्रशिक्षक हुन् । उनी यसअघि जाउलाखेल, फ्रेन्ड्स, थ्रीस्टार, आर्मी लगायत क्लवलाई प्रशिक्षण दिइसकेका छन् । राष्ट्रिय टिमका स्ट्राइकर भरत त्रिभुवन आर्मी क्लवका कप्तान समेत हुन् ।
बुधबार पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतपत्रमा आइएमई ग्रुपका तर्फबाट गेम अन प्रालिका प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर भरत खवासले हस्ताक्षर गरे ।

कार्यक्रममा गेम अन प्रालिका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनु परेको अवस्थालाई अन्त्य गर्न आफूले एफसी चितवन टीमको नेतृत्व लिएको बताए । टीमले सफलता प्राप्त गर्ने विश्वास समेत उनले व्यक्त गरे ।

खेलकुदमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइ नसकेको अवस्थामा समस्त खेलाडीलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको उनले बताए । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रवन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताए ।

मुख्य प्रशिक्षक मेघराज केसीले नेपालमा व्यवसायिक फुटवलको जति विकास सोचेजति हुन नसकेको बताए । कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अब नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने बताए ।

हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकालको उपस्थिति थियो ।

नेपालमा पहिलो पटक अक्सनमा आधारित फ्रेन्चाइज  फुटवल प्रतियाेगिता हुन लागेको छ । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टीमको स्वामित्व ग्रहण गर्न थालेपछि प्रतियोगिता झन् बढी रोमान्चक हुने देखिएको छ ।

प्रतिक्रिया