महाराष्ट्रमा सिनेमा हल र रेस्टुरेन्टमा प्रतिबन्ध बढ्यो, पञ्जाबमा परीक्षा स्थगित

एजेन्सी । छिमेकी मुलुक भारत पुनः कोरोना भाइरस (कोभिड १९) संक्रमणले थलिएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यहाँका विभिन्न जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने अन्य विविध गतिविधिमा समेत प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।

पञ्जाबमा मात्र मंगलबार काेराेनाका कुल सक्रिय संक्रमितकाे संख्या ११ हजार ९४२ सम्म पुगेकाे छ । राज्यमा काेराेना संक्रमण मृत्युदर राष्ट्रीय औसतभन्दा लगभग दुई गुणा बढी छ । त्यहाँ मृत्युदर ३.१ प्रतिशत रहेकाे छ, जबकी राष्ट्रीय औसत १.४ रहेकाे छ । उता राज्यमा लगातार बढिरहेकाे संक्रमणलाई मध्येनजर गर्दै सरकारले पञ्जाबका ८ जिल्ला लुधियाना, पटियाला, मोहाली, फतेहगढ साहिब ,जान्धर, नवांशहर, कपूरथला र होशियारपुरमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यू लगाइएकाे छ ।

सर्वसाधारणकाे घरेलु भाेजभत्तेर, साँस्कृतिक जमघटमा समेत एक सयभन्दा बढी मानिस जम्मा हुन प्रतिबन्ध लगाइएकाे छ । साथै विभिन्न बाह्य कार्यक्रममा समेत २ सयभन्दा बढी मानिस सहभागी हुन पाउने छैनन् । यद्यपी किसान संगठन र राजनीतिक दलकाे र्यालीमा भने हजाराैँ भीड जम्मा भइरहेकाे छ, सरकारले नियन्त्रणकाे प्रयास गरेकाे छैन ।

राज्य सरकारले प्रदेश स्कुल शिक्षा बाेर्डकाे १० र १२ कक्षाकाे परीक्षा एक महिनाकाे लागि स्थगित गरेकाे छ, तर परीक्षा दिन आएका विद्यार्थीलाई भने सामाजिक दुरी कायम गराइएकाे छैन । सरकारले यसमा पनि ध्यान दिएकाे पाइँदैन । पटियालाकाे एक संस्थागत विद्यालयमा ३८ विद्यार्थीमा काेराेना देखिएकाे छ ।

पञ्जाबमा अहिलेसम्म काेराेना संक्रमणबाट करिब ६ हजार एकसय जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ ग्रामीण क्षेत्रकाे तुलनामा शहरी क्षेत्रमा संक्रमण धेरै फैलिएकाे पाइएकाे छ ।

महाराष्ट्रमा सिनेमा हल र रेस्टुरेन्टमा प्रतिबन्ध बढ्यो

भारतकाे महाराष्ट्रमा पनि काेराेना संक्रमण तीव्र रूपमा फैलिएकाे छ । महाराष्ट्र सरकारले नागपुरमा २१ मार्चसम्म लकडाउन गरेकाे छ । पुणेमा ३१ मार्चसम्म राति ११ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन कर्फ्यूकाे घाेषणा गरिएकाे छ । त्यहाँकाे विद्यालय, क्याम्पस पनि ३१ मार्चसम्मका लागि बन्द गरिएकाे छ ।

यस्तै औरंगाबादमा ४ अप्रिलसम्म राति ९ बजेदेखि बिहान ६ बजेसम्म लकडाउन गरिएकाे छ र ठाणेकाे १६ हटस्पट इलाकामा पनि ३१ मार्चसम्म लकडाउन गरिएकाे छ । राज्यकाे सबै कार्यालय, सपिङ्ग मल, सिनेमा हल, हाेटेल, रेस्टुरेन्टले ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन गर्न पाउनेछन् । सामाजिक, धार्मिक, साँस्कृतिक, राजनैतिक आयाेजनामा समेत प्रतिबन्ध लगाइएकाे छ । बिवाहमा पनि ५० प्रतिशत पाहुना मात्रै सहभागी हुनपाउनेछन् भने अन्तिम संस्कारमा २० जना मात्रै सहभागी हुन पाउनेछन् । साथै काेराेना संक्रमितकाे हातमा स्टाम्प लगाउने निर्णय समेत महाराष्ट्र सरकारले गरेकाे छ ।

प्रतिक्रिया