नेपाल-खनाल पक्षको एमाले कार्यकर्ता भेला आजदेखि

काठमाडौँ । सत्तारूढ नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला सुरु हुँदैछ । ललितपुर सानेपास्थित एक होटलमा बिहान ११ बजेदेखि भेला सुरु हुने भएको हो ।

भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले एकलौटी हिसावले गत फागुन २८ मा केन्द्रीय समिति बैठकबाट नेकपा माओवादीका नेता रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि नेपाल-खनाल पक्ष असन्तुष्ट छ । उक्त निर्णय पार्टी विधानविपरीत हुने भन्दै फिर्ता लिन उक्त समूहले माग गरेको छ ।

यसैबीच ओली पक्षले भने खनाल-नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका छन् ।

भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनी पोखरेलले दिएका छन् । आज र भोलि हुने कार्यकर्ता भेलामा पार्टी एकतामा जोड दिइने नेपाल-खनाल पक्षले दाबी गरिएपनि यो भेला एमाले विभाजनको सुरुवात हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया