मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

परम्परागत खाजामा आधुनिक स्वाद मिसाउँदै ‘मिस्टर भक्का’

  • मनिषा पौडेल

काठमाडौं । खाना मिठो भएन भन्नेहरुलप्रति एउटा सोधाइ हुने गर्छ ‘भोक मिठो कि भोजन ?’ मतलब भोक लागेका बेला स्वाद गौण हो । भोक लागेको छ भने मिठो नमिठो नभनि खाइन्छ ।

तर, सबैजना यो मान्न तयार नहुन पनि सक्छन् । हुन पनि भोक लागेको छ भन्दैमा जे भेट्यो त्यो ग्वाम कि ग्वाम खाइन्छ भन्ने नै पनि छैन । आखिर खानेकुराको काम भोक मार्ने मात्र होइन, स्वाद र सन्तुष्टि दिनुपनि हो । स्वादको पक्षलाई कम आँक्ने कहाँ मिल्छ र ?

खानेकुरा, कच्चा पदार्थसँग मात्रै होइन भूगोल र संस्कृतिसँग पनि जोडिएको हुन्छ । त्यसै भएर त ठाउँअनुसार, संस्कृतिअनुसार खानेकुराको मौलिक स्वाद हुन्छ । भाषा, लवज, भेषभुषासँगै खानेकुराले पनि ठाउँ विशेष, जाती विशेष वा सस्कृति विशेषको परिचय दिइरहेको हुन्छ । त्यहि भएर त कुनै ठाउँ भन्नसाथ त्यो ठाउँको मौलिक परिकार पनि सम्झना हुने गर्छ ।खानेकुराको बिबिधताले खासमा सामाजिक र भोगोलिक विविधतालाई नै दर्शाइरहेको हुन्छ । भेगीय र जातीय दुबै रुपले जोडिएको एक परिकारको नाम हो भक्का । जसले पूर्वी नेपालको तराई र राजबंशी जातीलाई सम्झाउँछ, चिनाउँछ ।

तर भक्का अब राजवंशी समुदायको खाजाका रुपमा मात्र रहेन न त अब यसलाई पूर्वी तराईको परिकार मात्र भन्न मिल्ने नै भयो । मानिसजस्तै फैलिंदै फैलिंदै भक्का पनि काठमाडौंसम्म आइपुगेको छ ।

‘राजवंशी खाजा’ पनि भनेर चिनिने भक्का चामलको पिठोबाट बन्छ । चामलको पिठोलाई बटुकोमा निश्चित आकार दिएर पानीको बाफमा पकाइन्छ र नुन खुर्सानीको अचारसँग चोपेर जिब्रो फड्कार्दै खाइन्छ । यो जति रैथाने खाजा हो उत्ति नै स्वादिलो, स्वस्थ र पोषणयुक्त पनि मानिन्छ ।

जाडोको बेलामा भक्का र चियाको संयोजन गज्जब हुन्छ भन्नेहरु धेरै भेटिन्छन् । भक्कालाई काठमाडौंमा चिनाउन र चखाउन लागिरहेकामध्ये एक ब्यवसायी हुन्, झापाका विदुर पोखरेल । भक्कालाई काठमाडौंमा व्याबसायिक बनाउने उद्देश्यले काठमाडौंको तीनकुनेमा ‘मिस्टर भक्का’ खोलेका छन् ।

अष्ट्रेलियामा करिब १ दशक विताउँदै गर्दाको लामो मन्थन र मेहनतपछि आफुले मिस्टर भक्काको अवधारणाले सार्थक रुप दिन सकेको विदुर बताउँछन् । ३२ वर्षिय विदुरले जीवनका १० वर्ष अष्ट्रेलियामा बिताए ।

उनी २०६३ सालतिर नेपालमा आफ्नो भबिष्य नदेखेर अष्ट्रेलिया उडेका थिए । विदुरले त्यहाँ होटल म्यानेजमेन्ट पढे र होटलमै काम पनि गरे । पढाई र कामबाट सिकेको कुरा आफ्नै देशको मौलिक खाना र खाजामा प्रयोग गर्ने सोच लिएर नेपाल फर्किएको उनी बताउँछन् ।

अष्ट्रेलियामा गरेको संघर्ष र दुखले सफलता प्राप्त गर्न दिने प्रेरणाबाहेक अरु केही सम्झन मन लाग्ने पल नरहेको उनी बताउँछन् । दुखैदुखका ती दिन सम्झनुभन्दा ‘मिस्टर भक्का’ लाई चिनाउँनमै ब्यस्त र मस्त छन् ।

तिनकुनेमा साँघुरो–साघुँरो सटरमा रहेको ‘मिस्टर भक्का’ले भक्काको रैथाने स्वादमा केही फरक प्रयोग पनि गरिरहेको छ । सामान्य तया भक्कामा गुलियो कुरा नराखिने भएपनि विदुरले भने भक्कामा खुवा, सख्खर, चकलेटलगायत फ्लेवर थपेर केही फरक मेनु तयार पारेर ग्राहकलाई पस्किरहेका छन् ।अलि फरक भएपनि त्यो स्वादकै कारण पसलमा ग्राहकको घुईँचो लाग्ने गरेको अनुभव उनको छ । मिस्टर भक्कामा भक्कासँगै मट्का चिया, लाफिङ्, लस्सी, चाट र मःम पनि पाइन्छ ।

सानो लगानीमा सुरु गरेको यो व्यवसायमा सोचेभन्दा धेरै सफलता मिलेको अनुभव सुनाउँछन् विदुर । पोहोरभन्दा यसपटक व्यापार ३० प्रतिशत जतिले बढेको उनले सुनाए । ‘नाफा पनि बढेकै छ, दुई जनालाई राम्रो पारिश्रमिकसहित रोजगारी पनि दिन सकेको छु । मान्छेहरुले पनि बढी चिन्न थालेका छन्, सबै कुराले गर्दा खुशी छु, अझै थप गर्न जाँगर मिलिरहेको छ ।’

आफुले ग्राहकको स्वादमात्र नभएर स्वास्थ्यलाई पनि ध्यान दिइरहेको उनी बताउँछन् । ‘भक्का स्वस्थकर खाजा हो, यो प्रशोधित पिठोबाट नभई चामलको खस्रो र राम्रो पिठोबाट बन्ने भएकोले धेरै फाईदा छ, फाईवर नष्ट भएको हुदैन ।’ चामलको पिठोलाई कसौडिमा राखी बाफबाट भक्का पकाईन्छ । यसमा तेल वा कुनैपनि चिल्लो पदार्थ प्रयोग गर्नु पर्दैन । बिहानको खाजाको रुपमा भक्का खान मज्जा आउँछ ।

‘हेर्नु न हाम्रो त किचेन पनि खुल्ला छ । कसरी पकाईरहेका छौ, कस्ता खाद्य सामग्री प्रयोग गर्छौ, कती सफा भाडाकुडा प्रयोग गर्छौ त्यो प्रत्यक्ष नियाल्ने सुबिधा ग्राहकलाई छ किनभने व्यापार मात्रै होईन ग्राहकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो’ भक्का बनाउँदै गरेको देखाउँदै विदुरले भने ।

भक्कासँग आफ्नो बालापन जोडिएको बताउँने विदुर आफ्नो बाल्यकालमा यही भक्का पनि पेटभरी खान नपाएको बताउँछन् । अहिले उनी यसलाई नेपालभरी चिनाउने उद्देश्यले ‘मिस्टर भक्का’को शाखा विस्तार गर्ने योजना बनाइरहेका छन् । विदुरले आफ्नो फोटो अंकित भक्काको लोगो समेत बनाईसकेका छन् । ‘केएफसी’ बाट प्रभावित त होइन नि ?’ जवाफलमा विदुर मुसुक्क मुस्कुराए मात्र ।

विश्वमाझ नेपाली स्वाद र खानालाई पस्कन सफल भएका सेफ सन्तोष साहसमेत आफ्नो पसलमा पुगेर भक्का चाखेको बताए । कान्तिपुर टेलिभिजनमा अन्तरवार्ता दिन पुगेका बेला बाटोमै पर्ने मिस्टर भक्काको नाम देखेर सेफ सन्तोक्ष् भक्का चाख्न पुगेका रहेछन् ।सन्तोषले चक्लेट फ्लेवरको भक्का खाएको र स्वादको तारिफ गरेको विदुरले सु्नाए । यसबारे एउटा भिडियो बनाएर टिकटकमा राखेको र त्यसलाई धेरैले मन पराएकाले झनै खुशी मिलेको बताए । मिस्टर भक्काले अहिले औसतमा मासिक पौने २ लाख रुपैयाको ब्यापार गर्ने गरेको उनले बताए । यसमा सटर भाडा आफ्नो लगानी र कामदारको खर्च घटाउँदा पनि सन्तोषजनक आम्दानी भएको विदुरको भनाइ छ ।

भक्काको ब्यवसाय झापा मै गर्न सकिने भएपनि काठमाडौंमा पनि यसको स्वाद पुर्याउन र अलि ठुलो ठाउँ पनि भएकाले काठमाडौँलाई रोजेको विदुर बताउँछन् । ‘यहाँ युरोपका खाना पिज्जा, बर्गर होटलपिच्छे जति पनि पाईन्छ । तर रैथाने खानाहरु सबै ठाउँमा पाईदैन । भक्तपुरमा बन्ने जुःजु धौ काठमाडौं र ललितपुरका सबै ठाउँमा पाइँदैन, तर विदेशी खाना जताजतै पाइन्छ ।’ त्यहि भएर पनि हाम्रै परिवेशको खानेकुरा फैलाउँ भनेर काठमाडौं रोजेको उनको भनाइ छ ।

स्थानीय खानाको ब्यावसायिकरणले एकातिर आफ्नो स्वाद जोगिने र अर्कोतिर बेरोजगारी कम गर्न पनि सघाउने उनी बताउँछन् ।

‘स्थानीय खाना हाम्रै खेतबारीमा फल्ने अन्नबाटै बनाउन सकिन्छ, बिदेशी सामानमा भर पर्नु पर्दैन, मकै, कोदो, फापर, जौ, मास, सिमीजस्ता बालीको बजार पनि बढ्छ एकातिर भने नेपाली रैथाने खानामार्फत पर्यटक लोभ्याउने सजिलो पनि हुन्छ ।’ मकालु खबरसंग विदुरले भने ।

हुन पनि विदेशी पर्यटक यहाँको रैथानेपनमा रमाउन र रैथाने खानेकुरा चाख्न पो यहाँ आउने हुन् त, आफ्नै देशमा बन्ने खान्किबाट त उनीहरुले उतै अघाइसकेकै हुन्छन् नि ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com