पारस दाइले भनिरहनुभयो- तिमीले नै विकेट लिने हो

काठमाडौं । निरन्तर टिमबाट खेलिरहेका खेलाडीको प्रदर्शन राम्रो हुनु र भइरहनु नौलो कुरा होइन । तर खेल्न पाएको पहिलो प्रतियोगितामै सनसनीपूर्ण प्रदर्शन गर्नु चाहिँ ठूलो कुराे हाे ।

भर्खरै सकिएकाे काठमाडौं मेयर्स कप क्रिकेटले एउटा यस्तो क्रिकेटरको जन्मायो‚ जो आफ्नो पहिलो प्रतियोगितामै सर्वोत्कृष्ट बलर बने । उनी हुन्, आरियो पौडेल। बागमती प्रदेशका आरियोले काठमाडौं मेयर्स कपबाट आफ्नो पहिचान बनाएका छन् । काठमाडौं मेयर्स कपबाट नयाँ खेलाडीमा आरियो मात्रै त्यस्ता बलर देखिए‚ जसले किफायती बलिङ गरे ।

बागमती प्रदेश लिग चरणबाटै बाहिरियो । चार खेलमध्ये दुईमा जित र दुईमा हार व्यहोर्दै चार अंक बनाएर तेस्रो स्थानमा बागमतीले चित्त बुझायो । यो क्रममा बागमतीका पारस खड्काले शतक बनाउँदै आफ्नो साखलाई जोगाए । आरियोले आफूलाई चिनाए । तर अन्य खेलाडीको प्रदर्शन भने उत्कृष्ट रहेन ।आरियो भन्छन्, ‘मलाई राम्रो लागेको खेल आर्मीसँगकै हो । पुलिससँगको खेल पनि राम्रो नै भयो । त्यो खेल जित्नुपर्ने थियो । तर हार्‍यौं । त्यो खेल जितेको भए चाहिँ हामी फाइनलमा पुगिन्थ्यो शायद । त्यो खराब दिन थियो भनौं ।’

टिमको प्रदर्शन सोचेजस्तो नहुनुले आरियोलाई खिन्न त बनायो नै । तर आफ्नै अकल्पनीय प्रदर्शनमा भने उनी दंग छन् । भन्छन्, ‘ पहिलो पटक नै यस्तो बलिङ गर्न सकें, यति राम्राे हाेला भन्ने सोचेकै थिइनँ ।’

४ खेल १३ विकेट

यसअघि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पनि आरियो बागमती प्रदेशकाे टिममै थिए । तर दर्शकजस्तै । पुलिस क्लबसँगकाे खेलमा मात्र आरियो प्लेइङ सेटमा परे ।

मैदानमा पहिलो पटक र्छिदा उनी मख्ख थिए । बल्लतल्ल मैदान छिर्न पाउँदा मख्ख किन नहुन् पनि । तर पुलिसलाई बागमतीले सात विकेटले हराएकाे त्यो खेलमा उनले बलिङ गर्नै पाएनन् । सिनियर टिमबाट डेब्यु भएपनि याे खेल उनका लागि नाम मात्रको डेब्यु भयो ।करिब दुई महिनापछि काठमाडौं मेयर्स कपमा बागमतीले आफ्नो पहिलो खेल पुलिससँग नै खेल्यो। यो पटक भने आरियो टिममा परेनन् मात्र बलिङ गर्न पनि पाए । बलिङ गर्न पाएपछि त उनले जादुयी प्रदर्शन गरिहाले । उनले चार ओभरमा सात रन खर्चिएर एक मेडन ओभर राख्दै चार विकेट लिए । आरियो कै उत्कृष्ट बलिङमा पुलिस ७२ रन मै अलआउट भयो । अब भने टिम र सबैको ध्यान उनीमाथि पर्यो । तर पनि बागमतीले खेल दुई रनले हार्याे ।

त्यसपछि आरियोले काठमाडौं मेयर्स-११ टिमविरुद्ध १० ओभरमा ५८ रन खर्चिएर दुई विकेट लिए । जुन खेलमा बागमती काठमाडौंसँग ९४ रनले स्तब्ध बन्यो । एपिएफलाई २७ रनले पराजित गर्दै बागमतीले पहिलो जित निकाल्दा पनि १९ वर्षीय आरियोले दुई विकेट लिए।

लिग चरणको अन्तिम खेलमा आर्मीलाई बागमतीले १० रनले हरायो । यहि खेलम दुई शतक पनि बने । यो खेलमा पहिलो शतक बागमतीका पारस खड्काले बनाए । उनले ११९ रन बनाउँदै आफू लयमै रहेको सन्देश दिए । यहि खेलमा आर्मीका कप्तान विनोद भणडरीले पनि ११९ रन नै बनाउँदै आफूलाई अब्बल ब्याट्सम्यान ठहराए । प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी बन्दै सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिए।

यहि आर्मी र बागमतीबीचको खेल हो जसले आरियोले थप उचाई लिए । आरियोले ८.१ ओभर बलिङ गर्दा ४६ रन खर्चिँदै ५ विकेट लिए। योसँगै उनले प्रतियोगितामा चार खेलबाट १३ विकेट लिए । आरियोसँगै सर्वाधिक विकेट लिने खेलाडीहरुमा पुलिसका पवन सर्राफ र आर्मीका शाहब आलम पनि छन्। यी तीनै खेलाडीको नाममा समान १३-१३ विकेट रह्यो ।‘यति नै विकेट लिन्छु भनेर सोचेको त थिइन। तर राम्रो गर्छु भन्ने चाहिँ थियो। पहिले पनि खेल्न पाएको थिइन। यो पटक मौका पाए भने राम्रो गर्छु भन्ने थियो। टिममा पारस, ज्ञानु दाइ खेल्नु भएको छ। नेपाली क्रिकेटको धेरै ठूलो नामहरु हो। उहाँहरुको सामु राम्रो गर्नु पर्छ भन्ने थियो’, आरियोले मकालु खबरसँग भने ।

हाैसला पाइरहेँ

नेपाली क्रिकेटका स्टार क्रिकेटर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल उदीयमान खेलाडी र क्रिकेट खेल्नेहरुका आइडल हुन् । कतिपय त उनीहरुकै सिको गर्दै क्रिकेटमा आउने गरेका छन् ।

आफ्नाे आइडलसँग खेल्न पाउँदा आरियो खुशी नुहने कुरै थिएन । अझ पारस र ज्ञानेन्द्रको हौसलाले आरियोको बलिङ तिखार्ने काम गर्यो । नयाँ र जुनियर खेलाडीलाई पारस र ज्ञानेन्द्रले साथ दिँदै खेल्ने वातावरण बनाइरहेका हुन्छन् । नेपाली क्रिकेटले यहाँसम्मको यात्रा तय गर्नुमा याे पक्षकाे पनि कम भूमिका छैन ।

‘पारस र ज्ञानु दाईले जहिले पनि साथ दिनु भयो। फेरि फेरि मौका दिइरहनु भयो । नयाँ खेलाडीलाई उर्जा दिने क्षमता दाइहरुसँग छ। आत्मविश्वास बढोस भनेर दाइहरुले सजिलो बनाउनु हुन्छ ।’ आरियो थप्छन्, ‘पारस दाइले खेलकै क्रममा भन्ने गर्नु हुन्थ्यो, तिमीले लिन सक्छौं। तिमीले विकेट लिने हो, भनेर आत्मविश्वास बढाई रहनुभयो।’

देशबाट अझै राम्रो क्रिकेट खेलिरहन सकुँ 

बागमती प्रदेशबाटै फेरि क्रिकेट खेल्न पाउने भए भन्दै काठमाडौं मेयर्स कप अघि खुशी देखिएका आरियोलाई अब केही गर्नु पर्छ भन्ने हिम्मत आएको छ । उदीयमान खेलाडीका रुपमा उनले केही गर्न सक्छन भन्ने छाप पनि छाेडिसकेका छन् ।

स्पिनरको भूमिकामा देखिने आरियो भविष्यमा स्टार क्रिकेटर बन्न सक्छन् । उनमा त्यो खुवी छ पनि । तर  उनको प्रदर्शन कस्तो हुने हो, त्यो भने उनको परिश्रम र समयले निर्धारण गर्ने छ ।ग्रेट हिमालय क्रिेकट एकेडेमीका उत्पादक आरियोले क्रिकेट सिक्न थालेको धेरै पनि भएको छैन । स्थायी घर स्वयम्भू भएका उनी नैकापमा मामाघरमा हुँदादेखि क्रिकेट टेनिस बलले खेल्ने गर्थे । पछि क्रिकेट सिकाउने एकेडेमी छ भन्ने थाहा पाएपछि उनी ग्रेट हिमालय क्रिकेट एकेडेमीमा जोडिए । सिनियर दाइ र गुरुहरुबाट राम्रो ट्रेनिङ पाएका आरियो अब क्रिकेटमै केही गर्छु भन्ने सोचमा छन् ।

‘फ्रेन्चाइज लिगहरुमा मौका पाए भने राम्रो गर्नेछु । अन्य घरेलु प्रतियोगितामा पनि फिटनेश, फिल्डिङदेखि लिएर बलिङलाई अझ सुधार गर्दै अघि बढ्ने हो । राष्ट्रिय टिममा अवश्य एकदिन होला नि । राष्ट्रिय टिमबाट राम्रो खेल्ने भन्ने नै हो’, आरियोले सुनाए ।

प्रतिक्रिया