केश मुण्डन गरेका महिला कलाकार

  • दिक्षा कट्टेल 

काठमाडौं । नायिका केकी अधिकारी ‘नयाँ अवतार’ मा सार्वजनिक भएकी छन् । उनले चलचित्रको चरित्रका लागि कपाल खौरेकी हुन् । नाम नखुलाइएको चलचित्रका लागि उनले कपाल खौरिएको बताएकी छन् । उनले ‘चेन्ज इज ब्यूटिफूल, बाल्ड इज ब्यूटिफूल’ क्याप्सन सहित कपाल खौरिएको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

कपाल खौरिने उनी पहिलो नेपाली नायिका भने होइनन् । नायिका सुरक्षा पन्तले चलचित्र ’आमा’ का लागि कपाल खौरिएकी थिइन् । दीपेन्द्र के खनाल निर्देशित आमामा कपाल खौरिँदै गरेको दृश्य समेत कैद गरिएको छ । छायाङ्कन गर्दै गर्दा ‘केटी मान्छेले कपाल खौरिएको’ भन्दै हेर्नेको भिड नै लागेको थियो । उनको उक्त लुक्स दर्शकले मन पनि पराए ।

त्यस्तै चलचित्र ‘जाइरा’ का लागि नम्रता श्रेष्ठले पनि कपाल मुण्डन गरिन् । आफ्नो कपाल मुण्डन गर्दा आफुभन्दा बढी मुण्डन गरिदिने ब्यक्ति डराएको बताएकी छन् ।

नम्रता मार्सल आर्टस् खेलाडीको भूमिकामा देखिएकी ‘जाइरा’ खासै चलेन । तर उनको कपालको चर्चा भने लामै समय चल्यो । केश मुण्डन गरेका कारण उनले चलचित्र ‘प्रसाद’ मा नक्कली कपाल प्रयोग गर्नुपर्यो ।

चलचित्र ’प्रेम लीला’ का लागि नायिका तथा निर्माता दीपशिखा खड्काले पनि कपाल मुण्डन गरिन् । त्यो पनि ३ पटक । छायाङ्कन समयमा नसकिएका कारण उनले पटकपटक कपाल मुण्डन गर्नुपरेको उनी सम्झीन्छिन् ।

चरित्रलाई न्याय दिन कपाल काटेकी उनले परिवारको तर्फबाट भने धेरै गाली सुन्न पर्यो । कथावस्तु र प्रस्तुति राम्रो हुँदा हुँदै पनि चलचित्र भने चल्न नसकेको समिक्षकहरु बताउँछन् ।

यस्तै, अहिले सांसद समेत रहेकी गायिका तथा सञ्चारकर्मी कोमल वलीले समेत कपाल मुण्डन गराएकी थिइन् । उनले भने कुनै भूमिकाको लागि नभइ २०५८ सालमा भएको दरबार हत्याकाण्डको शोकमा कपाल काटेकी थिइन् । राजपरिवारको संरक्षणमा नै अध्ययन गर्दै कला क्षेत्रमा लागेकी उनले श्रद्धास्वरूप कपाल मुण्डन गरेको बताएकी थिइन् ।

सगरमाथा चढेर चर्चा कमाएकी नायिका निशा अधिकारीले पनि कपाल मुण्डन गरेकी थिइन् । उनले कुनै चरित्रको लागि नभइ आफ्नै स्वतन्त्रताको लागि कपाल मुण्डन गरेको बताएकी थिइन् । कपाल काट्दाको प्रत्येक क्षण आफूले ’इन्ज्वय’ गरेको बताउने गरेकी छन् ।

धेरै नेपाली नायिकाले चरित्रको लागि र केहीले आफ्नै रहरले कपाल मुण्डन गराएका छन् । चरित्रलाई न्याय गर्न होस् वा स्वतन्त्रता महसुस गर्न उनीहरुको केश मुण्डनले राम्रै र लामै समय चर्चा पायो । अब केकीको केश मुण्डनको चर्चा पनि केही समय पक्कै हुनेछ ।

प्रतिक्रिया