अवार्डको लागि काम गर्दिनँ : प्रमोद अग्रहरी

काठमाडौँ ।  दसौँ नेफ्टा अवार्डको खलनायक तर्फको अवार्ड प्रमोद अग्रहरीले प्राप्त गरे । उनले चलचित्र ‘कथा काठमाडौँ’ बाट उक्त अवार्ड हात पारेका हुन् । यस चलचित्रको भूमिकालाई लिएर विवाद समेत भएको थियो । ट्रेलरमा समावेश एक दृश्य अश्लील भन्दै चौतर्फी विरोध भयो । यतिमात्रै नभएर ‘पोर्न हब’ मा समेत प्रमोद र प्रियङ्का कार्की अभिनित उक्त दृश्य अपलोड भयो ।

एक कलाकारको अभिनयलाई वास्तविक देखाउने काममा प्रमोद भने सफल देखिए । उक्त समय विरोध भए पनि उनको अभिनयको तारिफ गर्दै अवार्ड प्रदान गरियो । अश्लिल चलचित्र राखिने साइटमा उनको चलचित्रको अंश समेटिनु दुःखद भएको उनले अभिव्यक्ति भने दिएका थिए । साथै उनको त्यो दृश्य चलचित्रको लागि आवश्यक रहेको उनको दाबी थियो ।

उनले अवार्ड पाएपश्चात् पत्रकारको प्रश्न थियो, नाच्ने (पर्फर्म गर्ने) ले मात्रै अवार्ड पाउने हुन्, भनेर विरोध भयो भने ? उनले सहजै उत्तर दिए, ‘जसले पाउनुपर्ने उसैलाई दिनुस् । म अवार्ड प्राप्त गर्न लायक छैन भने लायकलाई दिनुस् ।’

आफूले अवार्डका लागि कहिल्यै पनि काम नगर्ने  प्रमाेदकाे भनाइ छ । अवार्डको लागि भनेर काम नगर्ने र आफू योग्य नलागेमा आयाेजकले अवार्ड दिने भनेपनि स्वीकार नगर्ने उनी बताउँछन् ।

नकारात्मक भूमिकामा बढी रुचाइएका प्रमाेदले अवार्ड समारोहमा भने रोमान्टिक नृत्य प्रस्तुत गरे । आफूलाई नाच्न नआउने बताउँदै सिक्नका लागि तत्पर रहेको समेत उल्लेख गरे । उनको प्रस्तुतिले धेरैको मन जितेको थियो ।

दशौँ एलआइसी नेफ्टा अवार्ड शनिबार सम्पन्न भएको हाे ।

प्रतिक्रिया