अघिअघि अनु पछिपछि अवसर…

काठमाडौं । ‘मेरो आइडल फुटबलर अनु दिदी हो, उहाँसँगै खेल्न पाउँदा छुट्टै ऊर्जा मिल्यो, त्यसैले त सर्वोत्कृष्ट खेलाडी भएँ ।’ राष्ट्रिय महिला लिग फुटबलकी उत्कृष्ट खेलाडी घोषित सरु लिम्बुको प्रतिक्रिया हो यो ।

अनुको कप्तानीमा रहेको सशस्त्र प्रहरी बल एपिएफ क्लब नेपाल च्याम्पियन हो । अनुको टिमका खेलाडीहरू उनको उपस्थिति र कप्तानीले सहकर्मी खेलाडीलाई बेग्लै ऊर्जा र प्रेरणा मिल्ने गरेको बताउँछन् ।हुन पनि अनुको अनुभव खेलाडीका लागि सिक्ने मौका र उनको संघर्ष नयाँ पिँडीका लागि प्रेरणाको स्रोत बनिआएको छ । त्यसैले त सरु र सरुजस्ता धेरै फुटबल खेलाडीहरुका लागि अनु ‘रोलमोडल’ हुन् । अनु अर्थात् अनु लामा, जसले नेपालको राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन् ।

अनुलाई आदर्श मान्दै खेल्न थालेका धेरै खेलाडी अहिले राष्ट्रिय टिमसम्म पुगेका छन् भने अझै धेरै ‘अनु’हरू फुटबलमा प्रदेश गर्दैछन् ।

३३ वर्षीया अनुलाई उमेर ‘जस्ट अ नम्बर’ अर्थात् ‘केवल अंक’ मात्र लाग्छ । त्यसैले त उनलाई घरेलु लिग अझै खेल्छु भन्ने हिम्मत छ । ‘अझै २–३ वर्ष त घरेलु लिग खेल्छु भन्ने विश्वास छ’, अनुले सुनाइन्, ‘फुटबलको माया लाग्छ, छोड्नै सक्दिनँ ।’

अनु सशस्त्र प्रहरी पनि हुन् । उनको पेन्सन पाक्न अब ४–५ वर्षमात्र बाँकी छ । अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट भने सन् २०१८ मै बिट मारेकी हुन् अनुले ।

हुन पनि अनुको अनुभव खेलाडीका लागि सिक्ने मौका र उनको संघर्ष नयाँ पिँडीका लागि प्रेरणाको स्रोत बनिआएको छ । त्यसैले त सरु र सरुजस्ता धेरै फुटबल खेलाडीहरुका लागि अनु ‘रोलमोडल’ हुन् ।

अनु युग
अनु नेपाली फुटबलकी एक ‘योद्धा’ हुन् । आफूभन्दा पहिले राष्ट्रिय टिममा जमुना गुरुङसँग मिलेर डेब्यु गरेकी अनुले राष्ट्रियस्तरमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरको फुटबलमा पनि तहल्का मच्चाएकी थिइन् । त्यसै ३५ अन्तर्राष्ट्रिय गोल कहाँ सम्भव हुन्छ र ?

सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक महिला फुटबल समावेश भएको हो । त्यहि वर्ष घोषणा भएको साफ महिला च्याम्पियनसिपले नेपालमा मात्रै नभएर दक्षिण एसियामै महिला फुटबलले माहोल बनाएको हो ।

अनुले त्यहि अर्थात् ११ औं दक्षिण एशियाली खेलकुदबाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । हो, त्यहिँबाट शुरु भएको हो, अनु युग । अनुले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता अर्थात् डेब्यु प्रतियोगितामै ५ गोल गरिन् । त्यहि वर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिपको पहिलो संस्करणमा उनले नेपालको तर्फबाट ११ गोल गरिन् ।त्यस्तै, श्रीलंकामा भएको दोस्रो र पाकिस्तानमा भएको तेस्रो संस्करणको साफ च्याम्पियनसिपमा उनले ५–५ गोल गरिन् । कुवेतसँगका दुई मैत्रीपूर्ण खेलमा ६ र कतारविरुद्धको मैत्रीपूर्ण खेलमा एक गोल गरेकी अनु त्यसबेला नेपालकी सर्वाधिक गोलकर्ता बनिन् ।

अहिले उनको सर्वाधिक गोलको रेकर्ड सावित्रा भण्डारीले तोडेकी छिन् । ३५ अन्तर्राष्ट्रिय गोल गरेर सर्वाधिक गोलकर्ताको किर्तीमान बनाएकी अनुको नाममा अझै अन्तर्राष्ट्रिय गोल थपिने सम्भावना थियो । तर, सन् २०१४ को तेस्रो साफ च्याम्पियनसिपपछि चोटले सताएपछि उनले अझै गोल थप्ने सपना त्याग्नुपरेको हो । चोटका कारण दायाँ घुँडाको शल्यक्रियापछि उनी लामो समय मैदान बाहिर रहन बाध्य भइन् ।

नेपाली महिला फुटबल टिमका लागि भारत दक्षिण एसियाको सबैभन्दा ठूलो तगारो बन्दै आएको छ । अरु सबै टिमलाई हराउँदै फाइनल पुगेपनि नेपाली टिमले फाइनलमा भारतको तगारो तोड्न सकेको छैन ।

तर, २०१८ मा भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई पहिलोपटक पराजित गर्न सफल भयो । जतिबेला नेपाली टिममा अनु पनि परेकी थिइन् । तर उनले खेल्ने मौका भने पाइनन् । चोटका कारण लामो समय मैदान बाहिरै रहहेकी उनको पुनरागमन बेञ्चमै सीमित बन्यो ।कडा परिश्रमपछि विराटनगरमा भएको साफ च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिने उनको एउटै लक्ष्य थियो, तर अफसोस, त्यो पूरा भएन । यो कुराले भने उनलाई अझै पनि नरमाइलो गरी चिमोटिइरहन्छ । ‘सोचेजस्तो नहुँदा दुःख त लागिहाल्छ नि’, मकालु खबरसँग अनुले भनिन् ‘यो चाहिँ मेरो मनमा सँधै खट्किरहने कुरा हो ।’

फर्केर हेर्दा..

नेपाली महिला फुटबल उत्पादनमा रौतहट अग्रणी जिल्ला हो । यसमा धेरथोर भूमिका अनुको पनि छ । राष्ट्रिय टिमका नियमित सदस्य मञ्जलीकुमारी योञ्जन, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर रौतटहका हुन् । यस्तै निशा थोकर, रविना गोलेलगायत धेरै खेलाडी अनुकै पथमा देखिन्छन् । अनुकै सिको गर्दै उनी जस्तै बन्ने सपना बुनेका खेलाडी रौतहटमा मात्र होइन अरु ठाउँमा पनि छन् । गृह जिल्ला हुनुका नाताले रौतहटमा बढी छन् ।

अनु मकवानपुरमा जन्मिएपनि ३–४ वर्षको हुँदै बुबाआमासँगै मावली सिन्धुली पुगिन् । उनी सिन्धुलीमा बसिन् तर उनका बाबुआमा भने व्यवसायकै सिलसिलामा रौतहट गए । होटल व्यवसाय राम्रो भएपछि रौतहटमै घर बन्यो । अनु पनि करिब ६–७ वर्षकी भएपछि बुबाआमासँग रौतहट नै गइन् ।

आफूले सिन्धुलीमै फुटबल खेल्न थालिसकेको अनु बताउँछिन् । कहिले बारीको पाटामा त कहिले खोलाको किनारमा, प्लास्टिकको बल बनाएर खेलेको उनले कहाँ भुल्न सक्थिन् र ? ‘सिन्धुलीमा हुँदा दाइहरू अलिअलि फुटबल खेल्नुहुन्थ्यो । म पनि दाइहरूसँग खेल्थे । प्लास्टिकको बल बनाएर हामी खेल्थ्यौं । दशैंतिर चाहिँ म केटाहरुको टिममा किपर बनेर खेलेको थिए,’ अनुले सुनाइन् ।फर्केर हेर्दा अनुलाई आफ्नो बाल्यकाल निकै रमाइलो लाग्छ अनि आफूलाई साहसिक छोरीका रुपमा पाउँछिन् उनी । रौतहट झरेपछि पनि अनुले उनका दाइहरूसँग फुटबल खेल्न छाडिनन् । फुटबल खेल्ने नै भन्ने त उनको लक्ष्य नै त बनिसकेको थिएन ।

तर, फुर्सदको समयमा रमाइलोका लागि खेल्दाखेल्दै उनको फुटबलसँग यस्तो साइनो गाँसियो कि फुटबलबिना उनको नाम नै अधुरोजस्तो अपुरो जस्तो भइदियो । उसो त, अनुबिनाको नेपाली महिला फुटबलका पनि खल्लो खल्लो हुन्छ, रिक्त हुन्छ । शायद, उनको स्थान कसैले पूरा गर्न सक्दैन ।

अनुसहित लक्ष्मीकुमारी पौडेल, तेजकुमारी गुरुङ र सोभा कुस्वार चारै खेलाडी रौतहटका हुन् । लक्ष्मी अहिले अमेरिकामा छिन् । सानोमा फुटबल खेल्दाको क्षण सम्झिदै भन्छिन्, ‘लक्ष्मी र ममात्रै केटाहरुको टिमबाट खेल्थ्यौं । उनी बजारको केटाहरुको टिमबाट खेल्थिन् । म चाहिँ भाइहरू, साथीहरुको टिम बनाएर खेल्थें ।’

गाँउमै बामगती युवा क्लबमा ट्रेनिङ भइरहन्थ्यो । त्यो बेला अनु सात कक्षामा पढ्थिन् । फुटबल सिक्ने इच्छा भएपछि अनु विद्यालयका साथीहरु लिएर क्लबमा पुगिन् । ६, ७, ८ र ९ कक्षाका केटीहरु बटुलेर उनी फुटबल सिक्न क्लबमा गइन् । तर भनेजस्तो भएन । ‘शेरबहादुर गुरुले कम्तिमा एउटा टिम पूरा भए मात्र सिकाउन सक्ने भन्नुभयो हामी जम्मा ९ जना मात्रै थियौं ।’ अनु २०६० सालको त्यो क्षण सम्झिन्छिन् ।तत्काललाई योजना असफल भएपनि २०६० सालकै साउनमा विद्यालय एक महिनाका लागि छुट्टी भयो । त्यो बेला उनले फुटबल सिक्ने आफूजस्ता २० जना साथी भेला पारेकी थिइन् । अनि शुरु भयो उनको फुटबल ट्रेनिङ । खेल्दाखेल्दै, सिक्दासिक्दै उनको खेल निखारिँदै गयो ।

विद्यालयस्तर हुँदै जिल्लास्तरका खेलहरु खेल्दै अनु १९ वर्षमुनिको राष्ट्रिय टिममा परिन् । सन् २००४ मा यु–१९ टिमबाट चीन गइन् । २०६३ सालमा अनु एपिएफ क्लबमा आबद्ध भइन् । अनुलगायत अन्य खेलाडीलाई समेट्दै पहिलोपटक एपिएफले महिला टिम बनाएको थियो ।

अहिले अनु यहि एपीएफ क्लबको कप्तान छन् । भर्खरै अनुको कप्तानीमा एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको हो ।

प्रतिक्रिया