त्रिविमा सात हजारभन्दा बढी दरबन्दी रिक्त रहेको खुलासा

  • लक्ष्मण कार्की

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा  सात हजारभन्दा बढी दरबन्दी रिक्त रहेको पाइएको छ । मकालु खबरलाई प्राप्त विवरणअनुसार त्रिविमा शिक्षक र कर्मचारी गरी १६ हजार ६२ जनाको स्वीकृत दरबन्दी रहेकोमा ७ हजार ३ सय ३५ दरबन्दी रिक्त रहेकाे छ । जसमध्ये शिक्षकतर्फ ३ हजार २ सय २० र कर्मचारीतर्फ ४ हजार १ सय १५ दरबन्दी रिक्त रहेकाे हाे

त्रिविमा शिक्षक र कर्मचारीका लागि जम्मा १६ हजार ६२  दरबन्दी स्वीकृत छ । जसमा शिक्षकको  ७ हजार ९ सय ३८ जना र कर्मचारीको ८ हजार १ सय २४ दरबन्दी सँख्या रहेकाे त्रिभुवन विश्वविद्यालयले जनाएकाे छ ।

त्रिविका शिक्षक कर्मचारीहरुको अभिलेख राख्ने प्रमुख दायित्व रहेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले स्वीकृत दरबन्दी र कार्यरत शिक्षक कर्मचारीको वास्तविक संख्या अद्यावधिक नगरी लुकाउँदै आएको थियो । तर, सूचनाको हकका अभियन्ता मुकेश कुशवाहले लिखितरुपमा सूचना माग गरेपछि हालै त्रिविले शिक्षक कर्मचारीको दरबन्दी र कार्यरत वास्तविक संख्या समेतको सूचना उपलब्ध गराएको हो ।

हजारौं दरबन्दी रिक्त हुँदा एकातिर युवाले रोजगारीको अवसर गुमाएका छन् भने अर्काेतिर त्रिविकाे कार्य सम्पादनमा पनि समस्या परेको छ ।

शिक्षकतर्फ ३ हजार २ सय २० दरबन्दी रिक्त

त्रिविले उपलब्ध गराएको दरबन्दीसम्बन्धी सूचनामा शिक्षकतर्फ ३ हजार २ सय २० स्थायी दरबन्दी रिक्त रहेको पाइएको छ । ७ हजार ९ सय ३८ दरबन्दीमध्ये अझै ३ हजार २ सय २० दरबन्दी रिक्त रहेको हो ।

शिक्षकतर्फ प्राध्यापक ९ सय २९ जना, सहप्राध्यापक २ हजार २ सय २ जना, उपप्राध्यापक ४ हजार १ सय २४ जना, सहायक प्राध्यापक ४ सय २८ जना र अन्य २ सय ५५ जनाको दरबन्दी रहेको त्रिविले जनाएको छ ।

सूचनामा अहिले त्रिविमा ४ सय १४ जना प्राध्यापक, १ हजार ९० जना सह‍-प्राध्यापक, २ हजार ८ सय ३६ जना उपप्राध्यापक, १ सय १३ जना सहायक-प्राध्यापक, ६५ जना उपप्रशिक्षक, ५४ जना सहायक-प्रशिक्षक र ५सय २२ जना करार सेवाका शिक्षण सहायक गरी कुल ५ हजार ९४ जना शिक्षक कार्यरत रहेको उल्लेख छ ।

यसअनुसार ५१५ जना प्राध्यापक, १ हजार १ सय १२ जना सह-प्राध्यापक, १ हजार २ सय ८८ जना उपप्राध्यापक र पदमा ३ सय १५ जना सहायक-प्राध्यापक गरी ३ हजार २ सय २० जनाको दरबन्दी रिक्त रहेको देखिएको छ ।

त्रिविले अन्य शीर्षकमा २५५ दरबन्दी रहेको जानकारी दिएपनि दरबन्दीभन्दा बढी उपप्रशिक्षक ६५, सहायक प्रशिक्षक ५४ र शिक्षण सहायक पदमा ५ सय २२ जना गरी कुल ६ सय ४१ जना कार्यरत रहेको पाइएको छ ।

कर्मचारीतर्फ ४ हजार १ सय १५ दरबन्दी रिक्त
त्रिविमा कर्मचारीतर्फ ४ हजार १ सय १५ दरबन्दी रिक्त रहेको देखिएको छ । त्रिविका लागि सरकारबाट स्वीकृत ८ हजार १ सय २४ जना कर्मचारीको दरबन्दीमध्ये १५ जना विशिष्ट श्रेणी, ७५ जना अधिकृत प्रथमस्तर, २ सय ७६ जना अधिकृत द्वित्तीयस्तर, १ हजार ५८ जना अधिकृत तृतीय स्तर, २ हजार १ सय २९ जनासहायक प्रथम स्तर, १ हजार ६ सय १ जना सहायक द्वित्तीय स्तर र २ हजार ९ सय ७० जना श्रेणीविहिन कर्मचारीको दरबन्दी रहेको सूचनामा उल्लेख छ ।

यसमध्ये हाल प्रशासक वा सो सरह (प्रशासनिक र प्राविधिक) ४ जना, सह प्रशासक वा सो सरह ४६ जना, उपप्रशासक वा सो सरह १ सय ८२ जना, शाखा अधिकृत वा सो सरह ५ सय ८० जना, स्टाफ नर्स वा सोसरह प्राविधिक कर्मचारी ३ सय १३ जना, मुख्य कार्यालय सहायक वा सो सरह ८ सय ७२ जना, कार्यालय सहायक वा सो सरह ८ सय ५ जना र श्रेणीविहिन कर्मचारी १ हजार ५ सय २० जना तथा ठेक्का करारमा कार्यरत श्रेणीविहिन कर्मचारी ५ सय १ जना र क्याम्पस कार्यालयहरुमा आन्तरिक करार सेवामा काम गर्ने अधिकृतस्तर र सहायकस्तरका ६ सय ८४ जना गरी जम्मा ५ हजार ५ सय ७ जना मात्र कार्यरत छन् ।

दरबन्दी संख्याअनुसार ४ हजार १ सय १५ कर्मचारी रिक्त रहेको देखिन्छ ।

कुल दरबन्दी संख्यामा करार र ठेक्का करार सेवामा कार्यरत संख्यासमेत थप गर्दा कुल कर्मचारीहरुको संख्या ५ हजार ५ सय ७ जना घटाउँदा २ हजार ६ सय १७ जना कर्मचारीको दरबन्दी रिक्त रहेको देखिन्छ ।

कुशवाहाले गत मंसिर महिनामा सूचनाको हकसम्बन्धी निवेदन हुलाकमार्फत पेश गरी त्रिविमा कार्यरत शिक्षक, कर्मचारीहरुको गत २०७७ आषाढ मसान्तसम्मको विवरण माग गरेका थिए । तर त्रिविले सूचनाको हकको प्राप्त निवेदन र कार्यालय प्रमुखउपर गरिएको उजुरी निवेदनसमेतको कुनै सुनुवाई नगरेपछि उनले राष्ट्रिय सूचना आयोगमा माघ महिनामा पुनरावेदन गरेका थिए ।

सूचना आयोगको पटक पटकको आदेशपछि भने त्रिविले इमेलमार्फत् सूचना उपलब्ध गराएको कुशवाहले मकालु खबरलाई जानकारी दिए । करिब तीन महिनापछि मागेको सूचना पाएको उनले बताए ।

कुशवाहाले सूचना माग गरेपछि त्रिवि कर्मचारी प्रशासन महाशाखाले शिक्षक कर्मचारीहरुको विवरण सूचना तथा जनसम्पर्क महाशाखामा उपलब्ध गराएको थियो । सूचना तथा जनसम्पर्क महाशाखाको गत फागुन ७ गतेको पत्रमार्फत सूचना पठाउँदै कर्मचारी प्रशासन महाशाखाले फागुन ११ गते सूचना उपलब्ध गराएको विवरण भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया