२३ पूर्वमाओवादी नेतालाई पत्र पठाइँदै, स्पष्टीकरण नदिए सांसदबाट हटाउने तयारी

काठमाडौं । एमालेको केन्द्रीय सदस्य बनेका २३ जना पूर्वमाओवादी नेतालाई २४ घण्टे स्पष्टीकरणको पत्र आज (आइतबार) पठाइने भएको छ । नेकपा माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी समितिको बैठकले सरकारबाट फिर्ता बोलाउने र एमालेमा जानुको कारणबारे २४ घण्टे स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।

हिजो शनिबार भएकाले पत्र नपठाइएको र आज पत्र पठाउन लागिएको माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनले मकालु खबरसँग भने, ‘हिजो शनिबार भएकोले पत्र पठाइएन, आज उहाँहरु सबैलाई पत्र जाँदैछ ।’

माओवादी केन्द्र त्यागेर एमाले केन्द्रीय सदस्य बनेका नेता तथा श्रममन्त्री गौरीशंकर चौधरीले आधिकारिक पत्र आइनपुगेको र आएपनि खासै महत्व नहुने बताए । मकालु खबरसँग उनले भने, आधिकारिक पत्र पाइसकेका छैनौँ । तर, पाए पनि त्यसको महत्व रहँदैन, हामी अहिले जहाँ छौँ, त्यहीँ ठीक छौँ ।’

माओवादी नेता लीलामणि पोखरेलले भने पार्टीले गरेको निर्णयअनुसार मन्त्रीबाट फिर्ता नभए र स्पष्टीकरण नदिए उनीहरुलाई कारबाही गरिने बताए । ‘स्पष्टीकरण नआए माओवादी छोडेर एमाले भएका साथीहरुको सांसद र मन्त्री पद स्वतः खारेज हुन्छ’ पोखरेलले भने । स्पष्टीकरण नआए यसबारेमा थप छलफल गरेर कारबाहीको प्रक्रिया अघि बढ्ने उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ जना पूर्वमाओवादी नेताहरुलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् । उनीहरुमध्ये नेता रामबहादुर थापा ‘बादल’ बाग्मती र लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएका छन् । बादलले शनिबार नै पदबहाली समेत गरिसकेका छन् ।

प्रतिक्रिया