हामीलाई एमालेमै ठीक छ, अब माओवादीमा फर्किन्नौं : श्रममन्त्री चौधरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पूर्वमाओवादीबाट एमाले बनेका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत मात्रै गरेनन्, दुईजनालाई प्रदेश इन्चार्जसमेत तोके ।

त्यसपछि शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट एमाले बनेका नेताहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिँदै २४ घण्टे स्पष्टीकरण सोधेको छ । यससँगै अब माओवादी केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएर २४ घण्टे स्पष्टीकरण सोधिसकेको अवस्थामा २३ जना नेताहरुले के गर्लान् ? भन्ने कौतुहलता बढेको छ । यसबारेमा सहकर्मी धनबल राईले माओवादी केन्द्रबाट एमाले भएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका गौरीशंकर चौधरीसँग गरेको कुराकानी गरेका छन् ।

यहाँहरुलाई माओवादी केन्द्रले सरकारबाट फर्किन र एमालेको केन्द्रीय सदस्य किन भएको भन्नेबारे स्पष्टीकरण सोधेको छ, तपाईँहरु अब के गर्नुहुन्छ ?
पहिलो कुरा त हामीले यसबारे आधिकारिक जानकारी पाइसकेको छैनौँ । र यस्तो जानकारी वा चिठी आएपनि काम छैन । सञ्चारमाध्यममा चाहिँ देख्दैछु, हेर्दैछु । के गरेको हो मैले पनि बुझेको छैन ।

जानकारी वा त पत्र ढिलो चाँडो आउला नै, अब कसरी अगाडि जाने भन्ने योजना त बनाइसक्नुभएकै होला नि ? 
अब कानूनी र संविधानमा भएको कुराहरुबारे हामी पनि जानकार छौँ । उताबाट कस्तो कदम चाल्छन् भन्ने कुरामा पनि जानकार नै छौँ । हामी सबैको ध्येय भनेको पार्टीलाई एकढिक्का बनाउनुपर्छ भन्ने हो । हामीलाई मन नपरेको कुरा भनेको मन लाग्दा पार्टी एकता गर्ने र मन नलाग्दा पार्टी फुटाउने प्रवृत्ति हो । जुन उताका साथीहरुसँग छ । हामी त अझै एकै भएर अगाडि जानुपर्छ भन्ने पक्षमा छौँ ।

आफ्नो दल माओवादी केन्द्रले सरकारबाट फिर्ता आउन निर्देशन दियो अब फिर्ता हुने होला नि सरकारबाट ?
हामी जहाँ छौँ, त्यहीँ ठीक छ । अब हामी यताउता गर्दैनौँ । उहाँहरु (माओवादी केन्द्रका नेताहरु) ले कस्तो कदम चाल्नुहुन्छ हेरौँ । सबै कुराको निर्धारण उहाँहरुको कदमले नै गर्छ । हामीलाई त यहीँ ठीक छ । हामी हैर्दै जान्छौँ ।

पुनः माओवादीमा फर्किन्दैनौँ भन्नुभएको हो ? 
हो हो, अब हामी फर्किन्नौँ । हामीलाई यहीँ ठीक छ । मैले अघि नै भने अब यताउता गर्दैनौँ हामी । हामी पुनः माओवादीमा फर्किने सम्भावनाको ढोका नै बन्द भइसक्यो ।

उसो भए अब तपाईँहरु सधैंका लागि एमाले भइसक्नुभयो ?
हो हामी एमाले भई नै सक्यौँ । हामी त उताका साथीहरुलाई पनि पार्टीमा निम्तो दिन्छौँ । त्यतातिर गएका साथीहरुलाई पनि आउनुस् मिलेर जाऔँ भनेर भन्छौँ । किन यो अलग–अलग भएर जाने । एकै भएर जाऔँ भन्ने हाम्रो ध्येय हो । पार्टीलाई दह्रो बनाऔँ, संगठनलाई दह्रो बनाऔँ भनेरै हामी यसरी भनिरहेका छौँ ।

भनेपछि अब यहाँहरु सरकारबाट पनि बाहिरिनु हुन्न र स्पष्टीकरण पनि दिनुहुन्न ?
हो, दिँदैनौँ ।

प्रतिक्रिया