जनता मुख्य हुन्, नेता होइनन् : प्रचण्ड (भिडिओसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता निर्माणमा जनता ठूलो भूमिका रहने बताएका छन् । प्रकाश विकल्पद्धारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेता समाज र जनताले पैदा गर्ने कुरा भएको अध्यक्ष प्रचण्डको भनाइ छ । ‘इतिहासमा चेतनाको निर्माता जनता हुन्,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जनता मुख्य हुन्, नेता होइनन् । यो कुरा बुझ्न जरुरी छ । जनताको चेतनास्तर आमरुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मिन्छन् भन्ने कुराको निर्धारण गर्छ । नेताले पनि जनतालाई एउटा निश्चित दिशातिर डोर्याउन सहयोग त गर्छ । तर, यथार्थमा मुख्य भनेका जनता नै हुन् ।’

यस्तै अध्यक्ष प्रचण्ड आफूलाई धेरै पहिले मार्न खोजेको बताएका छन् । आफूलाई ‘जियाडोनो ग्रिनो’ बनाउन खोजेको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो लडाइँ प्रधानमन्त्रीको लागि नभएको बताए । ‘यथास्थितिवादी, परम्परावादी, लामो समय राज्य सञ्चालन जिम्मा लिएका मान्छेलाई नाम पनि मन पर्दैन,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘काम पनि मन पर्दैन । उनीहरुले कहीँ न कही टिप्पणी गरिनै राखेका हुन्छन् । मैले त्यसलाई अनौठो र अस्वभाविक मान्दिनँ । मलाई आफ्नै वर्गले ठीक ढंगले चिन्यो कि चिनेन ? भन्ने कुरा बढी चिन्ताको विषय बनेको छ । मेरा विरोधीले मलाई आरोप लगाउनु, गाली गर्नु र आलोचना गर्नु किनभने मलाई एकाथरीले त मलाई मार्ने खोजेको हो नि त । अहिलेसम्म बाँचिरहिएको छु कता–कताबाट । त्यो कसले बचायो भन्दा जनताले बचाएका हुन्, अरूले त होइन । जियाडोनो ग्रिनो त मलाई नै बनाउन खोज्या हो नि त। तर, म दुई चोटी  प्रधानमन्त्री भइसकेँ ।’

यस्तै अध्यक्ष प्रचण्डले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताए।

मानिस हुनुको नाताले चेतनाकोस्तर निरन्तर अघि बढेको छ कि, छैन भन्ने कुरा प्रमुख कुरा भएको भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए । अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सम्मृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानवीय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिँदैन । समग्र मानव समाज नै एउटा हार्मोनिममा, एउटा तादात्म्यमा सामाजिक न्यायसहित सभ्यताको एउटा नयाँ उचाई छुदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो ।’

प्रतिक्रिया