जसपाका तीन शर्त, ओलीकाे ‘ग्रिन सिग्नल’

काठमाडौँ । सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल सकारात्मक देखिएको छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो ।

जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए । त्यस पश्चात् जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता माग राखेको थियो । माग सम्बोधन भए एमालेसँग सत्ता साझेदारी गर्न जसपा तयार छ ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफू माग सम्बोधन गर्न तयार रहेको र यसको व्यावहारिक पक्षबारे छलफल गर्न कार्यदलस्तरमा मोडालिटीबारे अगाडि बढ्न आग्रह गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जसपासँगको छलफल सकारात्मक भएको भन्दै अब कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताए ।

वार्ता सकारात्मक हुँदै गएपछि आज कार्यदलस्तरमा छलफल हुँदैछ । ‘प्रधानमन्त्री र जसपाका नेताबीचको भेटघाट सकारात्मक रहेको छ । शुक्रबार फेरि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ’, प्रेस सल्लाहकार थापाले भने ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल बनाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई खटाएका थिए । अब त्यसमा अरु नेताहरुलाई राखेर कार्यदल बनाउने तयारी छ ।

प्रतिक्रिया