सांसद पद बचाउन हिँड्ने पक्षमा छैनौँ : रायमाझी

कास्की । पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरु सांसद पद बचाउन हिँड्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार एमाले कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले यस्तो बताएका हुन् ।

यस्तै रायमाझीले आफूहरुको सांसद पद गुमेपनि केपी शर्मा ओलीको साथ नछोड्ने बताए । ‘विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ,’ रायमाझीले भनेका छन्, ‘सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ ।’

रायमाझी पूर्वमाओवादी नेता भएर पनि पछिल्लो पटक नेकपा विभाजन हुँदा –एमाले) ओली कित्तामा उभिएका हुन् । त्यसपछि उनलाई ऊर्जा, जल तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लागेका नेता कारबाहीमा पर्न सक्छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर ओली पक्षमा लागेका नेता रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताएका हुन् ।

गत फागुन ११ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा साविकतिरै फर्किएको छ ।

प्रतिक्रिया