चैत दोस्रो सातादेखि उपत्यकावासीको धारामा दैनिक पानी आउने

काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएसँगै उपत्यकावासीको घरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा पानी वितरण गर्ने योजना बनाएको हो।

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईरतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताइे। केन्द्रको परीक्षण सकिएपछि नयाँ र पुरानो दुवै पोखरीमा पानी पठाइनेछ। नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पुरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ।

अहिले सुरुङ परीक्षणको क्रममा छ । त्यो सकिएपछि प्रशोधन केन्द्र र त्यसपछि थोक वितरण प्रणाली पाइपलाइनको परीक्षण हुने खानेपानी मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बनेका नौ पोखरी र पहिलेबाट सञ्चालनमा रहेका छ पोखरीमा पानी सँगसँगै जानेछ। नयाँ पोखरीमा भरिएको पानीले चैतमा नै नयाँ पाइपलाइन परीक्षण सुरु हुन्छ।

काठमाडौं उपत्यकामा दुई सातापछि पानी आउँदा एकै पटक क्षमताअनुसारको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सबै संरचना परीक्षणका क्रममा रहेकाले तत्कालका लागि थोरै परिमाणमा आउनेछ। त्यसलाई क्रमशः बढाउने योजना बनाइएको छ। रासस

प्रतिक्रिया