जाँडरक्सीले उजाडियो परिवार

  • नृप रावल

काठमाडौं । सोमबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै थियो । महिला हिंसाको अन्त्यबारे पैरवी हुँदै थियो । त्यही दिन बेला दैलेखको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित बेपत्ता भइन् ।

कर्णाली नदीमा तीन छोराछोरीसहित सुकीको शव भेटिएको छ । एक छोरीको अत्तोपत्तो छैन ।

अहिलेसम्मको अनुसन्धान र छरछिमेकीको कुराका आधारमा श्रीमानको कुटपिटका कारण सुकीले चारजना छोराछोरीसहित नदीमा विलिन हुने निर्णय गरेकी हुन् भन्ने देखिएको प्रहरीले जनाएको छ ।

सम्झँदा मात्र पनि आङ सिरिङ्ग गर्ने यो घटनाको कारण के होला ? आखिर किन यस्तो परिबन्द पर्‍यो होला आमालाई कि जसले आफ्ना सारा लालाबालासहित आफैं नदीमा हेलिने निर्णय गरिन् ।

अहिलेसम्मको अनुसन्धानले जाँडरक्सी नै मुख्य कारण रहेको देखाएको प्रहरी बताउँछ ।

अहिलेसम्मको अनुसन्धानले पतिको असह्य पीडाका कारण सुकी छोराछोरीसहित नदीमा हाम फालेको खुलेको दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । ‘परिवारबीच लामो समयदेखि विवाद भएको पाइन्छ,’ मकालु खबरसँग उनले भने, ‘पारिवारिक तनाव झेलिरहेकी सुकीले असह्य पीडा भएपछि नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

भौगोलिक रुपमा विकट र मानवीय विकासका हिसाबले पनि पछि परेको कर्णाली प्रदेशमा महिलाका समस्या अत्यधिक छन् । अहिलेपनि महिलाले आफ्नो पीडा आफैंभित्र गुम्साएरै राख्ने, कसैलाई भन्न नसक्ने र अति भएपछि आत्महत्याको बाटो रोज्ने गरेको डीएसपी श्रेष्ठ बताउँछन् ।

जाँडरक्सी नखाऊ भन्दा कुटाइ
दैनिक ज्याला मजदुरी गर्ने सुकीका श्रीमान् मानसिंह हरेक बेलुका जाँडरक्सी खाएर घर पुग्थे । दिनभर कमाएको पैसा बेलुका भट्टीमा सक्ने, मातेर घर पुग्ने र कुटपिट गर्ने मानसिंहको बानीदेखि वाक्क भएकी सुकीले आइतबार भने मानसिंहको प्रतिवाद गरेकी थिइन् । त्यो दिन सुकिले ‘मातेर आएका लोग्नेलाई दिनहुँ यसरी रक्सी खाएर कमाइ सक्ने हो भने बरु हामीलाई मार‚’ भनेकी थिइन् । पतिपत्नीको विवाद बढ्दै जाँदा हात हालाहाल नै भएको छिमेकीहरुले बताएका छन् ।

रक्सी नखान अनुरोध गर्दा आइतबार बेलुकी कुटाइ खाएकी सुकी सोमबार दिउँसो ४ बजेतिर खेतमा घाँस काट्न भन्दै डोको र हँसिया लिएर घरबाट हिँडिन् । उनले चारैजना छोराछोरीलाई पनि लस्कर लगाएर सँगसँगै खेततिर लगेकी थिइन् । स्थानीयका अनुसार सुकी र उनका दुई छोरीले डोको पनि बोकेका थिए । अफसोस ! उनीहरु साँझसम्म पनि घर फर्किएनन् । छिमेकीले पनि वास्ता गरेनन् । नशामा लठ्ठिएका श्रीमानले त कहिले पो परिवारको खोजखबर गर्थे र ? त्यो दिन घरै रित्तो हुँदा पनि उनले मतलब गरेनन् ।

साँझ धेरै नै छिप्पिएपछि प्रहरीले दुईजना किशोरीको शव भेटेको जानकारीसँगै अप्रिय खबर गाउँभरि फैलियो । शवको पहिचान भयो- उनीहरू सुकीका दुई छोरी थिए । सुकीले ४ सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने प्रहरीले अनुमान गर्‍यो र खोजी तीव्र बनायो । मंगलबार आमा–छोराको पनि शव भेटियो । एक छोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार जेठी छोरी १५ वर्षीया कल्पना र माइली छोरी १२ वर्षीया सरिताको शव सोमबार र सुकी तथा ८ वर्षीय छोरा ललितको शव मंगलबार भेटिएको हो । ५ वर्षीया रजनी बडुवालको खोजी भइरहेको छ ।

प्रहरीले मानसिंहलाई पक्राउ गरेको छ ।

अधिकारकर्मीको माग
घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको भन्दै अधिकारकर्मीले आपत्ति जनाएका छन् । तीनै तहका सरकारले नागरिकका समस्या पीडा भोगाइ, सामाजिक आर्थिक परिवेश, जाँडरक्सीको प्रयोग घरेलु मदिराको बिगबिगी कस्तो छ ? भन्नेबारेमा समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना नहुने वातावरण तयार गर्न उनीहरुले माग गरेका छन् ।

अनुसन्धान अछाम प्रहरीले गर्ने
भेटिएका चारवटै शवको अछाममा पोस्टमार्टम् भइरहेको छ । घटनास्थल अछाममा भएकाले घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अछामले गर्ने डिएसपी श्रेष्ठले बताए । ‘हामी उहाँहरुलाई सघाउँछौं । अनुसन्धान अछाम प्रहरीले गर्छ,’ उनले भने, ‘हामीसँग समन्वय गरेर अछाम प्रहरीले अनुसन्धान अगाडि बढाउँदैछ ।’

प्रतिक्रिया