चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा

काठमाडौँ । दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छिन् । आठबीस नगरपालिका-३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ सन्तानसहित कर्णालीमा हाम फालेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार नदीमा फाल हालेकामध्ये दुई बालिकाको शव अछामको सिमा नजिक भेटिएको छ । १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको डिएसपी श्रेष्ठले मकालु खबरलाई जानकारी दिए ।

उनकाअनुसार आमा सुकी, १० वर्षीय छोरा ललित र ५ वर्षीया छोरी रजनी बडुवाल अझै वेपत्ता छन् । उनीहरुको कर्णाली नदीमै खोजी भइरहेको र आफू पनि घटनास्थलमै रहेको डिएसपी श्रेष्ठले बताए । सुकीका श्रीमान मानसिंहलाई प्रहरीले पक्राउ गरेकाे छ । घरभन्दा केही टाढा रहेका उनलाई सोमबार बेलुका पक्राउ गरिएकाे हो ।

मानसिंहको परिवारमा ६ जना सदस्य थिए । उनकी श्रीमति, ३ छोरी र १ छोरा सोमबार दिउँसो नै घरबाट निस्किएका थिए । मानसिंह दिनहुँ जाँडरक्सि खाएर श्रीमतीसँग झगडा गर्ने गरेको बुझिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया