पूर्व माओवादीका मन्त्री बादल निवासमा, छोड्लान् त ओलीको साथ?

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गरिदिएपछि राजनीतिमा उथलपुथल सुरु भएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेताहरु पूर्ववत् पार्टीमै रहनुपर्ने भएकाे छ। सोमबार बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैठकले पनि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले आ-आफ्नै पार्टीमा रहने निर्णय गरे ।

तर पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु भने माओवादीमा फर्किन्छन् वा ओलीलाई साथै दिँदै एमालेमा जान्छन् भन्ने स्पष्ट भइसकेको छैन । माओवादी केन्द्रका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा लामा अहिले मन्त्री छन् ।

उनीहरू पूर्वपार्टी छोडेर ओली नेतृत्वकै एमालेमा बस्छन् कि प्रचण्ड नेतृत्वको पार्टीमै रहन्छन्, सबैले खुलेर बताएका छैनन् । केही मन्त्रीले भने पार्टी पूर्ववत् भए पनि आफूहरू ओलीको साथमा बस्ने बताएका छन् । यद्यपि औपचारिक रुपमा घोषणा भने गरिसकेका छैनन् । यस विषयमा औपचारिक धारणा बनाउन पूर्वमाओवादीका मन्त्रीहरु गृहमन्त्री रामबहादुर थापाकाे सरकारी निवास पुल्चोकमा छलफल गर्दैछन् ।

ओलीलाई साथ दिएर एमालेमा जाने वा माओवादी केन्द्रमा फर्किने भन्नेबारे छलफलपछि मात्रै भन्न सकिने उद्योगमन्त्री लेखराज भट्टले मकालु खबरलाई बताए । ‘सर्वाेच्चको फैसला सबैले मान्नुको विकल्प छैन,’ उनले भने, ‘हामीले अहिले कुनै धारणा बनाएका छैनौं, आजको छलफलपछि सबैले जानकारी पाउँछन् ।’

प्रतिक्रिया