जसपाले भन्यो–‘खुवालुङ फुटाए भौतिक रुपमै प्रतिकार’

काठमाडौं । जनता समाजवादी पार्टी प्रदेश नं. १ समितिले खुवालुङ फुटाए भौतिक रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ । समितिका अध्यक्ष प्रविण चाम्लिङले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

किरात समुदायको मुन्दुम, सभ्यता, पहिचान र आस्थालाई जीवन्त राख्ने अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङलाई बचाउने अभियानमा जुट्नसमेत जसपाले आह्वान गरेको छ । ‘खुवालुङको उच्च संरक्षण र सर्वद्धनसहित वैकल्पिक उपायबाट विकासका योजना सफल पार्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुलाई समेत पार्टीको तर्फबाट सुझाव दिँदै कथमकदाचित खुवालुङ भत्काउने दुस्साहस भएमा भौतिक रुपमै प्रतिकार गर्न हाम्रो पार्टी बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौ,’ अध्यक्ष चाम्लिङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ फागुनमा विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै खुवालुङलाई क्रेनको सहायताबाट ‘क्लियर’ गर्ने बताएका थिए । तत्पश्चात् प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति खासगरी किरात समुदाय आक्रोशित छ ।

प्रतिक्रिया