माओवादी केन्द्र र एमाले भएरै अघि बढ्ने दाहाल नेपाल पक्षकाे निर्णय

काठमाडौं ।  नेकपाभित्र दाहाल–नेपाल पक्षका रुपमा रहेका नेताहरु अब एमाले र माओवादी केन्द्रमै फर्कने भएका छन् ।

सर्वोच्च अदालतले एकतापूर्वको अवस्थामा पुर्याइदिएपछि साेमबार बसेकाे यो समूहको स्थायी कमिटी बैठकले एकता पूर्वको एमाले र माओवादी केन्द्रकै रुपमा अघि बढ्ने निर्णय गरेकाे नेता झलनाथ खनालले जानकारी दिए ।

यस्तै नेता नारायणकाजी श्रेष्ठले  सर्वोच्चले गरेको फैसलाको गम्भिर समिक्षा गर्दै यसकाे विरुद्धमा कानूनी उपचार पनि  खाेज्ने र तत्काललाई एकीकरण पूर्वकाे अवस्था अनुसार एमाले र माओवादी केन्द्रका रुपमा अघि बढ्ने निर्णय भएकाे जानकारी दिए ।

बैठकले  सर्बाेच्चकाे हिजाेकाे फैसला रिट निवेदकको माग दावीबाहिर गएको राजनीतिक फैसला भएकाे निष्कर्ष निकालेकाे छ । नामका बारेमा निष्कर्ष निकाल्नुपर्ने दायित्व हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला दिएको नेता श्रेष्ठले बताए । ‘नामबारे जे फैसला भएको भए पनि स्वागत गर्ने थियाै’ उनले भने, ‘ तर कुनै दलको एकीकरण गर्ने नगर्ने र एकीकृत पार्टीलाई फुटाउने खालकाे फैसला आएकाले याे अस्वभाविक हाे यसमा हाम्राे गम्भीर असहमति छ ।’

यसकाे विरुद्ध कानूनी उपचार अर्थात फैसला पुनरावलाेकनका लागि जाने पनि उनले जानकारी दिए ।
बैठकले पार्टी एकता सहि थियो भन्ने निष्कर्ष निकाल्दै बामपन्थी एकताको पहललाई जारी राख्ने तथा  संविधान कार्यान्वयन गर्दै सम्बृद्ध नेपाल बनाउने निर्णय गरेकाे नेता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया