समानताको अस्तित्व [कविता]

  • शुष्मा रुपाबुङ

एक रथका दुई पाङ्ग्रा
एक सिक्काका दुई पाटा
जस्तै,
अपरिहार्य हो भन्छन् तिमी र म
अर्थात्
नारी र पुरुष अस्तित्व !
तर अफसोच– तिमी पुरुषार्थको
अहम्ता र अहङ्कारको श्रीपेच
पहिरिएर गद्दासिन
मेरो अस्तित्वलाई
कुल्चिँदै दमित गर्नमा
व्यस्त हुन्छौ सधैं
मेरो आत्मसम्मान र
आत्मस्वाभिमानलाई
लिलामी गरेर आफ्नो बनावटी सम्मान
जोगाउन हस्याङ्फस्याङ् दगुरिरहन्छौ
मेरो बराबरीले तिम्रो अस्तित्व
सङ्कटमा पार्छ भन्ने डर छ
या त नारीभन्दा पुरुष सर्वश्रेष्ठ हो
भन्ने भ्रम छ,

तिमी सधैं भागबन्डा गरिरहन्छौ
कहिले समयको पावन्दी
दिन–रात आफ्नो पेवा बनाएर
उब्रेको थोरै उज्यालो घडीको
सुइ काँटासङ्गै,
निश्चित सीमारेखाभित्र
छुट्याइदिन्छौ मेरो लागि,
मेरो स्वतन्त्रतालाई जबरजस्ती
कैद गरेर तिमी फुक्काफाल भएर
साँढेपनको बिगुल फुक्दै हिँड्छौ,
कहिले शब्दहरुको भागबन्डा गर्दै
क देखी ज्ञसम्मको सर्वाधिकार आफैँ बनेर
छुट्याइदिन्छौ केही शब्द मेरा लागि
प्रयोग हुनेछन् तिम्रो तारिफ र
जय–जयकारको लागि

सिर्फ,
मैले आफ्नो लागि केही बोल्नुअघि नै
भाँचिदिन्छौ मेरा बर्णमालाका हिज्जेहरु
र मेरा शब्दहरुलाई बनाउँछौ अपाहिज
अनि सधैं आफू जितेको भ्रममा
बाँचिरहन्छौ र यसरी नै बाँचिरहन चाहन्छौ
तिमी बुझेर पनि बुझ्न चाहन्नौ
सोचेर सोच्न चाहन्नौ
चेतेर चेतिन चाहन्नौ

कि,
मेरो अस्तित्वले तिम्रो अस्तित्वको
रक्षा गरिरहेको छ
तिम्रो र मेरो बराबरीले तिम्रो
अस्तित्वको महत्व अझ बढ्नेछ,
तिमीसङ्ग कतै जित्नु छैन
तिमीसङ्ग केही लिनु छैन
तिम्रो कुनै अधिकार खोस्नु छैन
बस् ! बराबरी हिस्सेदार भएर
भोग्नु छ समय

अनि जिन्दगी !

आफ्नो लागि हिँडुनु छ
आफ्नो लागि जित्नु छ
आफ्नो खुशी टिप्नु छ
स्वतन्त्रताको श्वास लिनु छ
तिमीले कुल्चेका मेरा अस्तित्व
जबरजस्ती लिलाम गर्न खोजेका
आत्मस्वाभिमानहरु
अझ बलियो भएर जुर्मुराउँदैछन्
अब तिमी पुरुष सर्वश्रेष्ठ हो
भन्ने भ्रम तोडिदेउ
मेरो आत्मस्वाभिमानलाई लगाम
लाएर आफैँ जित्छु भने हठ छोडिदेउ

नत्र अब,
तिमीले ममाथि लगाएका तिम्रा
नजिरहरुले अब तिमीलाई बाँध्नेछन्
तिमीले भाँचेका मेरा शब्दहरू
पुनःनिर्माण भएर लखेट्नेछन् तिमीलाई
तिमीले कैद गरेका मेरा स्वतन्त्रताले
तिमीले कोरिदिएको सीमारेखा तोडेर
भाँचिदिनेछन् तिम्रो साँढेपनको सिङ

त्यसअघि नै,
स्वीकार गर मेरो अस्तित्व
हाम्रो समानताको अस्तित्व ।

प्रतिक्रिया