मेयर्स कप क्रिकेटः आर्मी र काठमाडौं खेल्दै

काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा आज एक खेल मात्रै हुँदैछ ।

त्रिवी क्रिकेट मैदानमा विभागीय क्लब त्रिभुवन आर्मीले काठमाडौं मेयर एघार टिमसँग प्रतिस्पर्धा गर्दैछ । आज बिहान ८ः४५ बजे खेल सुरु हुनेछ। दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । काठमाडौंले दोस्रो जितको खोजीमा हुनेछ। यता, आर्मी भने दोस्रो खेलमा पहिलो जित निकाल्ने दाउमा छ ।

यसअघि भएको पहिलो खेलमा आर्मी एपिएफ क्लबसँग एक विकेटले पराजित भएको थियो । काठमाडौं एघारले भने बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको थियो ।

काठमाडौंको कप्तानमा सन्दीप लामिछाने रहेका छन् । उनी पाकिस्तान सुपर लिग कोरोना भाइरसको कारण स्थगित भएपछि खेल्न नपाई नेपाल फर्किएका हुन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा काठमाडौं एघारले बागमतीलाई हराएको थियो। यता, आर्मीको कप्तानमा भने विनोद भण्डारी छन् ।

पाँच टिमको सहभागिता रहेको यो प्रतियोगिताको विजेताले पाँच लाख नगद पाउने छन् । प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले ५० लाख नेपाल क्रिकेट संघ (क्यान) लाई प्रदान गरेको छ ।

प्रतिक्रिया