‘मड्रिड डर्बी’ बराबरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ‘मड्रिड डर्बी’ बराबरीमा रोकिएका छन् । लिगको शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु टिम एथ्लेटिको मड्रिडले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । एथ्लेटिको मड्रिडका लुइस स्वारेजले गोल गरे । यता, रियल मड्रिडका लागि करिम बेन्जिमाले गोल फर्काए । खेलको १५ औं मिनेटमा नै स्वारेजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १-० गोलको अग्रता दिलाए ।

पहिलो हाफसम्म १-० ले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी खेलेको हो । खेलको ८८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरी दिलाए ।

ला लिगा मै भएका अन्य खेलमा सेल्टा भिगोले हुएस्कालाई ४-३, एथ्लेटिक क्लबले ग्रानाडालाई २-१ र रियल सोसिडाडले लेभान्टेलाई १-० गोलले पराजित गरेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको २५ खेलबाट ५९ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियल मड्रिडको भने २६ खेलबाट ५४ अंक छ ।

प्रतिक्रिया