प्रधानमन्त्री ओलीले आइतबार कोभिडको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (आइतबार) बिहान कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर खोप लगाउने जानकारी दिएका हुन् ।

शनिबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले प्रधानमन्त्रीलाई खोप लगाएर आइतबारदेखि दोस्रो चरणको खोप अभियानको उद्‍घाटन गर्ने तयारी रहेको पनि जानकारी दिए ।

दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका नागरिकलाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने सरकारको तयारी छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको सरकारले जनाएको छ ।

मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।

त्यस्तै मन्त्री त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप आइतबार नेपाल आउने पनि जानकारी दिए ।

प्रतिक्रिया