तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औँ जन्मदिन मनाइयो

काठमाडौँ । काठमाडौँमा धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाइएको छ ।
काठमाडौँमा रहेका तिब्बतीमूलका नेपाली र तिब्बती शरणार्थीले एक विशेष पूजाको कार्यक्रम गरेर धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाएका हुन् ।
तिब्बती समुदायले आफ्नो परम्पराअनुसार धार्मिक नेता दलाईको दीर्घायुको कामना गर्दै बाजागाजा सहित झाँकी निकालेका थिए । पूजा कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । तिब्बतबाट निर्वासित धार्मिक नेता लामा सोमवारबाट ९१ वर्ष पुगेका छन् ।
उनी १४ औँ दलाई लामा हुन् । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा आफ्ना धार्मिक नेता लामाको जन्मदिन मनाउँदै आएका छन् । दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए । तर तिब्बतमा बढ्दो राजनीतिक तनावबीच सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि तिब्बतबाट भारत पुगेका थिए । त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन् ।
यता उपत्यकामा दलाई लामाको जन्मदिनको अवसरमा प्रदर्शन हुने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । तिब्बती मूलका नेपाली र तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध, स्वयम्भू, जावलाखेल क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।
नेपाल सरकारले दलाई लामाको जन्मदिन पारेर चीनविरोधी गतिविधि हुनसक्ने तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाई लामाको जन्मदिन मनाउने गरेका छन् ।








