खास केही बोलेनन् विप्लव

काठमाडौं । विप्लव कस्ता भए होलान् ? सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएपछि धेरैलाई कौतुहलता थियो- विप्लवले के बोल्लान् ?

विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मञ्च शेयर गर्ने खबर आएसँगै धेरैलाई खुल्दुली लागेको थियो ।

शुक्रबार बिहान नवलपरासीमा सार्वजनिक तस्बिरले विप्लव कस्ता भए होलान् भन्ने कुराको जवाफ मिल्यो । ट्रयाकसुटमा रहेका विप्लव दाह्री काटेर चिटिक्क परेका र पहिलेभन्दा केही मोटाएका देखिए । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा कोटमा सजिएर पुगेका विप्लव थप ह्यान्डसम देखिए ।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउने सहमतिसँगै सबै नेपाली खुशी थिए । उनले अंगालेको सशस्त्र विद्रोहको बाटो गलत थियो भन्नेहरु अझ धेरै खुशी भए । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम गरिरहेका छन् भन्ने दाबी गर्नेहरु थप खुशी हुने नै भए ।
खासमा यो खुशी हुनुपर्ने विषय थियो नै ।

विप्लवले के भन्लान् ? भन्ने कौतुहलता मेट्ने थलो थियो राष्ट्रिय सभागृह । जहाँ विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै संबोधन गर्दै थिए ।

तर, संबोधनमा विप्लवले खास केही भनेनन् । किन सशस्त्र विद्रोह गर्नुपरेको थियो ? त्यसको औचित्य पुष्टि गर्न सकेनन् वा चाहेनन् । अहिलेपनि नागरिक व्यवहारिक रुपमा सार्वभौम हुन सकिरहेका छैनन्, उनीहरुका आकांक्षा पूरा हुन सकेका छैनन्, सामाजिक रुपान्तरण पूरा भएको छैन… यही सेरोफेरोमा सकियो उनको संबोधन ।

उनले मञ्चमा सँगै रहेका आफ्नो दलका नेता धर्मेन्द्र बाँस्तोला‚ जो कार्यक्रम शुरु हुनुभन्दा केही घण्टाअघि मात्र जेलबाट छुटेका थिए, लाई स्वागत गरे । तर जेलमै रहेका माइला लामालगायत अरु ‘सहयोद्धा’हरुबारे खास केही बोलेनन् । सहमतिअनुसार अरु साथीहरुलाई पनि छिट्टै सरकारले रिहा गर्छ होला भन्नेमा विश्वस्त रहेको बताएर औपचारिकता पूरा गरे ।

संविधानमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि प्रतिबन्ध लगाइने छैन भन्ने उल्लेख भएपनि आफूहरुमाथि किन प्रतिबन्ध लगाइयो भन्नेबारे उनले प्रश्न गरेनन् । न त अदालतले छोड्नु भनेर आदेश जारी गरेपनि त्यसको केहीबेरमै अदालत परिसरबाटै फेरि पक्राउ परेका नेताहरुको गिरफ्तारीबारे नै असन्तुष्टि जनाए ।

नेताहरुलाई एक वा दुई पटक मात्र होइन दर्जनौंपटक पक्राउ गर्दै थुन्दै देश दौडाहा जस्तै गराएको बारेपनि केही भनेनन् ।

धेरैले सोचिरहेको विप्लवको सैन्य संरचना र हतियारबारे पनि उनले मुख खोलेनन् ।

यसबारेमा न त सरकारले न त वार्ता समितिका सदस्यहरु ले नै केही बोल्न आवश्यक ठानिरहेका छन् । ठूलो उपलब्धिका रुपमा व्याख्या गर्ने क्रममा यो प्रश्नको जवाफ कसले दिने ? कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त सोधे नै हतियारबारेको चौथो बुँदा खोइ ? खासमा यो प्रश्न जायज हो । यसबारेमा दुवै पक्षले भन्नुपर्ने थियो ।

विप्लव शान्तिपूर्ण राजनीतिमा आएको भनेर आम नागरिक खुशी भइरहँदा हतिबार र सैन्य संरचनाबारे दुवै पक्षले चुईँक्क नगर्नुले संशय पैदा गराएको छ ।

विप्लवले अब उनी नेतृत्वको नेकपाले अब के गर्छ ? चुनावमा भाग लिन्छ कि लिँदैन ? कुनै दलसँग सहकार्य मात्र गर्छ कि वा दल एकताबारे के सोचिरहेको छ ? भन्नेबारे पनि केही बताएनन् ।

संसदीय व्यवस्थाप्रति घुमाउरो तर नरम पारामा असन्तुष्टि जनाएका उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे पनि केही बोल्न आवश्यक ठानेनन् ।

बरु उनले आक्रोशले मात्र काम फत्ते नहुने आशय व्यक्त गरे । यसरी प्रतिबन्धको दुई वर्षपछि सार्वजनिक भएका विप्लवले खास केही बोलेनन् ।

त्यसो त, आफ्ना अबका योजना तथा रणनीति बनाउन र बताउन विप्लवसँग समय छँदैछ ।

प्रतिक्रिया