प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

काठमाडौँ । कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ मा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाहीस्वरुप गोली चलाएको थियो । जवाफी कारबाहीमा एक भारतीय तस्करको गोली लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा जिल्ला पिलिभित थाना हजारा गुदान ४ बस्ने २६ वर्षीय गोबिन्दा सिंह रहेको प्रहरी प्रवक्ता थापाले जनाए । बाँकी तस्कर भने फारार भएको र दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ एकजना घाइते भएको उनले बताए ।

प्रहरी प्रवक्ता थापाका अनुसार भारतीय तस्करले नेपालमा लागुऔषध ल्याउन लागेको सूचना पाएपछि त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । प्रहरीले घटना स्थलबाट लागुऔषधसहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको छ ।

प्रतिक्रिया