विवादमा ‘पोइ पर्‍यो काले’ सिक्वेल

काठमाडौँ । चलचित्र ‘पोइ पर्‍यो काले’ को सिक्वेल निर्माणको घोषणा भएको विषयलाई लिएर निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो अनुमतिबिना चलचित्र घोषणा भएको भन्दै आपत्ति जनाएका हुन् । ‘मेरो ब्यानरमा बनेको चलचित्रको विषयमा कुनै पनि निर्णय गर्ने अधिकार अरूमा छैन‚’ उनले भनेका छन् ।

अहिले चलचित्र ‘दुई नम्बरी’मा व्यस्त उनले ‘पोइ पर्‍यो काले’को सिक्वेलको रुपमा ‘पोइ पर्‍यो बुढो’ २ वर्षपछि बनाउने योजना रहेको समेत बताएका छन् ।

चलचित्रका निर्देशक शिशिर राणाले दिक्पाल कार्कीलाई अनुबन्धित गरेको तस्बिर सार्वजनिक भइसकेको भएपनि राणाले अन्य कुनै नयाँ चलचित्रमा दिक्पाललाई अनुबन्धित गरेको बताएका छन् । यता दिक्पाल भने पोइ पर्‍यो कालेकै सिक्वेलमा आफू अनुबन्धित भएको बताउँछन् । यो विषयमा दुवैबीच कागजी सम्झौतासमेत भइसकेको छ ।

गत वर्ष कार्तिकमा रिलिज भएको चलचित्रमा  शिशिर राणाको निर्देशन र किरण नेपालीको निर्माण रहेको थियो । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, गोपाल ढकाल(छन्दे), शिशिर राणालगायतको अभिनय रहेको थियो ।

प्रतिक्रिया