दृष्टि संवाद ‘शो’मा चलाउँदै सृष्टि

काठमाडौं । मोटिभेसनल स्पिकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाउने भएकी छन् । मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर उनी काँचको पर्दामा देखा पर्न लागेकी हुन् ।

विभिन्न उतारचढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषयवस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीले प्रतिक्रिया दिइन् ।
टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, मोटिभेसनल स्पीच त अन्तर्राष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुन सक्छ, तर म तपाईंहरुलाई निराश बनाउँदिनँ, सफल बनाई छाड्छु ।’

उनले थपिन्, ‘म आँखा देख्दा कहिल्यै फर्स्ट भइनँ, तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेन्ड हुनुपरेको छैन ।’ टेलिभिजन कार्यक्रम उत्पादक कम्पनी मर्यादा मिडियाका कार्यक्रम प्रमुख श्याम नेपाल सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित रहेको बताउँछन् ।

प्रतिक्रिया