सरकार र विप्लव समूहबीचको वार्ता सकियो

काठमाडौं । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता सकिएको छ । प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बुधबार बिहान सबेरै शुरु भएको औपचारिक वार्ता सकिएको सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

वार्ता सकिएको बताउँदै भट्टराईले भनेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।’

वार्तामा सरकारका तर्फबाट पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ र राजन भट्टराई सहभागी थिए भने विप्लव समूहका तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

वार्ताका क्रममा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, नियन्त्रित आफ्नो नेता कार्यकर्ताहरु रिहा हुनुपर्नेलगायतका माग अघि सारेको बताइएको छ ।

विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि समूहले सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । सरकारले यसअघि नै तराई मधेशलाई अलग्गै राज्य बनाउनुपर्ने भन्दै पृथकतावादी आन्दोलन गर्दै आएका सीके राउतलाई मूलधारको राजनीतिमा समावेश गराएको थियो ।

मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले विप्लव समूहसँग चाँडै वार्ता हुने जनाउ दिएका थिए । तत् विषयमा सरकारले आजै वार्ता शुरु गरेको हो ।

प्रतिक्रिया