जनताको पक्षमा स्वतन्त्र छलफल गरौं : जनार्दन शर्मा

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले सांसदहरुलाई जनताको पक्षमा स्वतन्त्ररुपले छलफल गर्न अपिल गरेका छन् । उनले पार्टी‚ आन्दोलन र जनताको पक्षमा सचिवालय सदस्यबाहेक सांसदलाई स्वतन्त्र छलफलमा जुट्न आह्वान गरेका हुन् ।
नेता शर्माले सामाजिक सञ्जालमार्फत जनमतको सम्मान र आफ्ना कर्तव्य कसरी निर्वाह गर्ने भन्नेबारे निष्कर्ष निकाल्न स्वतन्त्र छलफल गर्न आवश्यक भएको उल्लेख गरे । ‘सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रूपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् ।
नेकपामा उत्पन्न विवादमाथि सबैको आ-आफ्ना बुझाइ रहेको बताउँदै शर्माले संसद् विघटनको निर्णय बदर भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैँप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको जिकिर गरेका छन् । ‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँदछु,’ उनले अगाडि भनेका छन्, ‘कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ ।’








