भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय एक किशोरलाई सार्वजनिक गरेको थियो ।

भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । फागुन ४ गते पक्राउ परेका ती किशोरमाथि अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले बताए । उनले भने, ‘नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सकेर अदालत बुझाउनुपर्ने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको हो ।’

उनकाअनुसार एक/दुई दिनभित्रै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ । प्राविधिक परीक्षण गर्नुपर्ने वस्तु प्रयोगशालामा पठाइएको र परीक्षण रिपोर्ट आएपछि प्रतिवेदन तयार हुन्छ ।

ती किशोरमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन पटक पाँच-पाँच दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी हिरासतमा रहेका ती किशोरले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरी सकेको प्रहरी बताउँछ । उनीमाथि कर्तव्य ज्यान मुद्दा र जबरजस्तीकरणी विरुद्धको मुद्दा दर्ता भइसकेको छ । –रासस

प्रतिक्रिया