विद्यालयमा ई-लर्निङ फैलाउँदै ओएलई नेपाल

  • सृष्टि नेपाल 

काठमाडौं । नेपालमा सरल‚ सहज र गुणस्तरीय शिक्षाका लागि गर्नुपर्ने काम नभएकाे भन्दै पटक पटक प्रश्न उठ्ने गरेका छन् । शिक्षा क्षेत्रमा फड्को मार्न सके मात्र देशकाे भविष्य बनाउन सकिन्छ भन्ने यथार्थ राज्य सञ्चालनकाे जिम्मा पाएकाहरुले बुझ्न नसकेकाे भन्दै याे क्षेत्रका प्राज्ञ र जानकारहरुले दुःख र आक्राेश व्यक्त गर्ने गरेका छन् ।

केही प्रयास गरेपनि शिक्षा क्षेत्रलाई आवश्यकताअनुसार सुधार गर्न नसकिएकाे यथार्थ हाे ।

गुरुले आफ्नो आश्रममा विद्यार्थीलाई जीवनयापनका लागि आवश्यक पर्ने ज्ञान, सीपमा आधारित अभ्यासमूलक शिक्षा दिने गुरुकुल शिक्षा प्रणालीकाे जगमा अघि बढिरहेकाे हाम्राे शिक्षा प्रणाली समयानुकुल प्रविधीमैत्री हुन सकिरहेकाे छैन । यसका थुप्रै जटिलता देखिएका छन् ।

शिक्षा लिनका लागि आश्रमभन्दा सहज  र आकर्षक विद्यालय भवन बनेका छन् । पाठ्यपुस्तक तयार भएका छन् । पाठ्यक्रम बनेकाे छ र सिकाउने नयाँ नयाँ कला पनि विकास भइरहेका छन् तैपनि सिकाइ वैज्ञानिक र प्रभावकारी हुन सकिरहेकाे छैन ।

सिक्ने र सिकाउने वातावरण सहज बनाउँदै लैजाने क्रममा व्यवहारिक शिक्षा प्रणालीकाे विकासबारे नसाेच्नाले, ‘घाेकन्ते सिकाइ’ लाई नै निरन्तरता दिनाले अध्ययन जीवनका लागि हाेइन परीक्षाका लागि भन्ने जस्ताे मानसिकता विकास हुन पुग्याे । विश्वले प्रविधिमैत्री व्यवहारिक शिक्षा प्रणाली विकास गरिरहँदा हामी न व्यवहारिक बन्न सक्यौँ न प्रविधिमैत्री ।

त्यसकारण पनि काेभिडकाे महामारीमा अन्य देशकाे तुलनामा हाम्राे शैक्षिक सत्रमा बढी असर पुग्याे । यद्यपि याे महामारीले प्रविधिमैत्री शिक्षाकाे महत्वबारे चेतना पनि जगायाे नेपालमा । ‘कम्प्युटर, अनलाइन सामग्रीबाट पनि सिकिन्छ/सिकाइन्छ र ?’ भनेर प्रश्न गर्ने शिक्षक, अभिभावक र सरकारी निकायले यसको आवश्यकता महशुस गरे र भर्चुअल कक्षा सञ्चालन गरियाे ।

अनलाइन पाठ्यसामग्री बनाउने ओएलइ नेपाल जस्ता संस्था यतिबेला सहयोगी र उपयोगी बने ।

इन्टरेनट र प्रविधिको पहुँचमा रहेका विद्यार्थीले घरैमा बसेर अध्ययन गर्ने अवसर पाए । इन्टरनेट नभएका केही विकट जिल्लामा पनि ओएलई नेपालले अफलाइन सामग्रीको पहुँच पुर्‍याउन सहयोगी भूमिका खेल्यो ।

महत्व बुझाउनै सकस

शिक्षा क्षेत्रमा प्रविधिकाे प्रयाेग बढाउनुपर्छ, प्रविधमैत्री शिक्षण सिकाइ प्रणाली स्थापित गर्नुपर्छ भन्ने साेच बाेकेका ४/५ जना युवाले सन् २००७ मा शुरु गरेकाे ओएलई नेपाल अर्थात् साझा शिक्षा ई-पाटी नामक गैरसरकारी संस्था शुरु गरेका हुन् । 

०६२/६३ को जनआन्दोलनपछि गठन भएको गठबन्धन सरकारले सरकारी विद्यालयमा सूचना प्रविधिको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो वार्षिक बजेटमा घाेषणा गरेकाे ‘एक विद्यार्थी एक ल्यापटप’ कार्यक्रममा समेत ओएलईले सहयाेग पुर्‍यायाे ।

मकवानपुर र मुस्ताङका विद्यालयका विद्यार्थीलाई ल्यापटप बाँडेपछि सुस्ताएकाे उक्त सरकारी कार्यक्रमलाई ओएलईले अगाडि बढाउने विषयमा सरकारलाई सहमत गराएपछि काम थालेकाे हाे ।

‘भर्खरैमात्र शिक्षामा कम्प्युटरको प्रयोग हुनुपर्छ भन्ने चेतना अंकुराउँदै थियो तर बालबालिकाका लागि कसरी उपयोगी बनाउन सकिन्छ भन्नेमा सबै अनभिज्ञ थिए, कोहीसँग क्लियर भिजन थिएन,’ त्याेबेला सम्झँदै ओएलई नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्यले मकालु खबरसँग भने,  ‘हामीले सरकारलाई यसबारे आफ्ना योजना सुनायौँ, सहकार्यका लागि सरकार तयार भयो र प्रविधिमैत्री शिक्षण सिकाइ प्रणाली स्थापित गर्न हातेमालाे गरेर अगाडि बढ्याैँ ।’

No description available.
ओएलई नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्य ।

ओएलईले उद्देश्य त बनायो तर पुरा गर्न निकै चुनौतिपूर्ण थियो । त्यतिबेला न इन्टरनेटको व्यापकता थियो न दक्ष, तालिमप्राप्त जनशक्ति थिए । विकटमा न बिजुली थियो न साैर्य सुविधा । छलफलका लागि जहाँ टिम पुग्थ्यो, त्यहाँ कन्सेप्टमाथि प्रश्न उठ्थ्यो- कम्प्युटरबाट पठनपाठन सम्भव छ र ?

संस्थाको काम अघि बढाउन पाठ्यपुस्तकबारे जानकारी भएको, शिक्षा, प्रविधि र विद्यार्थीको मनोविज्ञान राम्रोसँग बुझेको, डिजिटल सामग्रीबारे जानकारी भएको जनशक्ति आवश्यक थियो । तर ५/६ वर्षका केटाकेटीले समेत कम्प्युटरबाट सिक्न सक्ने खालको अध्ययन सामग्री बनाउन सकिन्छ भन्ने किसिमको अवधारणाबारे बुझाउन गाह्रो भयो । किनकी यो अवधारणा हाम्रो परम्परागत शिक्षा प्रणालीभन्दा अलग र सबैका लागि नौलो थियो 

परम्परागत शिक्षा प्रणालीमा केही नयाँ गर्नुपर्छ भन्ने खुला सोच बोकेका र प्रविधि र शिक्षाबारे ज्ञान भएका फरक-फरक समूहलाई जोडेर काम अगाडि बढायो । टिम त बन्यो, अनलाइन शिक्षण सामग्री पनि बने तर न शिक्षक कम्प्युटरमार्फत् सिकाउन तयार थिए न विद्यार्थी सिक्न तयार थिए । सबै ‘जान्दैनौँ’ भनेर पन्छिए ।

ती सबै चुनौतिलाई चिर्दै अहिले ओएलई नेपाल टिम आफ्नो उद्देश्यमा केही हदसम्म सफल भएको निर्देशक रवि बताउँछन् । ‘सामुदायिक तथा सरकारी विद्यालयहरुमा प्रयोग हुने हाम्रा सामग्रीहरु अहिले प्राइभेट विद्यालयहरुले समेत प्रयोग गर्न थालेका छन्’, रवि भन्छन्, ‘प्रविधिको प्रयोगबाट पनि अध्ययन र सिकाइ सम्भव छ भनेर धेरैले बुझ्न थाल्नुभएको छ । जसले याे क्षेत्रमा कार्यरतहरुलाई हाैसला मिलेकाे छ ।’

 – पाठ 

याे संस्थाकाे मुख्य उद्देश्य नै ई-पाठकाे प्रयाेग र पहुँच बढाउनु हाे । संस्थाले शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायत सबै शैक्षिक निकायसँगकाे समन्वयमा सुरूमा २, ३ र ६ कक्षाकाे राष्ट्रिय पाठ्यक्रममा आधारित अंग्रेजी र गणित विषयकाे डिजिटल कन्टेन्ट बनाएकाे थियाे । पाठमा भएका कुरा भिडियो, एनिमेशनमार्फत् देखाएर पढाउँदा बालबालिकाले खेल्दै सिक्ने, छिटाे सिक्ने भएका कारण ई-पाठकाे अवधारणा विकास गरिएकाे संस्थाका वरिष्ठ प्रबन्धक टीकाराज कार्कीले मकालु खबरलाई बताए ।

‘विषयगत विज्ञको प्रतिक्रियाका आधारमा तयार पारिएकाे ई-पाठ पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएपछि विद्यालयहरूमा पठाउँछाैँ । डिजिटल कन्टेन्ट अध्यापनमा शिक्षकले त्यति मेहनत नै गर्नुपर्दैन । सहजकर्ताकाे रूपमा प्रस्तुत भएर टेक्निकल सपोर्ट मात्रै गरे पुग्छ, बाँकी बालबालिकाले कम्प्युटर चलाएर आफैँ सिक्छन्’, उनले भने ।

कक्षा २ बाट सुरु गरिएपनि अहिले १ देखि ८ कक्षासम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान चारवटा विषयका पाठलाई विद्युतीय रुपमा तयार पारिएकाे छ । जसलाई ई-पाठ भनिन्छ । पहिले नेपाली माध्यमबाट मात्रै ई-पाठ तयार पारिएकाेमा अहिले सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट अध्ययन, अध्यापन सुरू भएकाले अंग्रेजी माध्यमकाे डिजिटल कन्टेन्ट पनि बनाइएकाे छ ।

संस्थाले अब कक्षा १० सम्मको कन्टेन्ट बनाउने र बनाइएका कन्टेन्टलाई देशका बढिभन्दा बढी विद्यालयमा पुर्‍याउने याेजना बनाएकाे छ । केही हप्ताभित्र नै सुदुरपश्चिमको ५८ वटा गाउँपालिकामा कन्टेन्ट लिएर जान लागिएकाे कार्कीले जानकारी दिए । उनले भने, ‘त्यहाँका गाउँपालिका अथवा नगरपालिकाको कार्यालयमा ई-पुस्तकालय स्थापना गर्दैछौँ । पालिकाका आइसीटी अफिसर, जनप्रतिनिधिलाई एकदिने ओरन्टेसन दिएपछि त्यहाँबाट विद्यालयहरूमा विस्तार हुने विश्वास छ ।’

No description available.
ओएलई नेपालका वरिष्ठ प्रबन्धक टीकाराज कार्की

डिजिटल कन्टेन्ट धेरै खर्चिलो हुने र तयार पार्न लामाे समय लाग्छ । कार्कीका अनुसार १०–१५ जना जनशक्ति लागि परे भने एउटा डिजिटल काेर्स ४–५ महिनामा तयार हुन्छ ।

ई – पुस्तकालय

व्यवस्थापक कार्कीका अनुसार ओएलईकाे ई–पुस्तकालयमा अहिले कथा, कविता, उपन्यासलगायत ८ हजार बढी डिजिटल किताबहरु छन् । संस्थाकाे वेबसाइट‍‍मा गएर अथवा माेबाइल एप्लिकेसन डाउनलाेड गरेर किताब अफलाइन र अनलाइन पढ्न, हेर्न र सुन्न सकिन्छ । आफुलाई मन लागेको विषय निःशुल्क अध्ययन गर्न सक्छन् ।

अहिले १५ सय बढी विद्यालयमा अफलाइन ई-पुस्तकालय चलिरहेको संस्थाले जनाएकाे छ ।

करिब २ सय विद्यालयमा ८ हजार बढी ल्यापटप वितरण

वरिष्ठ  व्यवस्थापक कार्कीका अनुसार ओएलई नेपालले सरकार, विभिन्न व्यक्ति तथा संस्थागत दाताकाे सहयाेग तथा समन्वयमा अहिलेसम्म करिब २ सय विद्यालयमा ८ हजार बढी कम्प्युटर कन्टेन्सँगै निः शुल्क वितरण गरिसकेकाे छ ।

ल्यापटप, कम्प्युटरबिना कन्टेन्ट बनाएर मात्र नहुने भएकाले कन्टेन्टसँगै उपकरणमा पनि जाेड दिनु आवश्यक थियाे । दुर्गम क्षेत्रमा इन्टरनेकाे पहुँच नभएका कारण बिनाइन्टरनेट पनि पेनड्राइभ, सिडी, कम्प्युटरमा कपी, डाउनलाेड गरेर लग्न सकिने गरी अफलाइन सामग्री बनाउनमा पनि जाेड दिइएकाे कार्कीले बताए ।

विद्यार्थीले कति सिके त ? यो भने उसको घरको वातावरण, विद्यालयको वातावरणमा पनि निर्भर हुने उनी बताउँछन् । तर आफूहरूले प्रविधिको मात्रै हेर्दा कम्प्युटर पनि हुन्छ र ? अथवा सुनेको मात्रै बच्चाले पनि दोस्रो दिनबाट कम्प्युटरमा भएका सामग्रीहरू पुरै चलाउन सक्ने बनाउने उनले दाबी गरे ।

शिक्षक तालिम

बनाइएका डिजिटल कन्टेन्ट कसरी चलाउने भन्नेबारेमा पनि संस्थाले विकट क्षेत्रका विभिन्न जिल्ला पुगेर शिक्षकलाई तालिम दिँदै आएकाे छ । शिक्षक तालिमका लागि विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै आएका र लकडाउनका बेलामा मात्रै करिब दुई हजारभन्दा बढी शिक्षकलाई अनलाईनमार्फत् तालिम दिएकाे संस्थाले जनाएकाे छ ।

यस्तै बिजुली नभएका केही विद्यालयमा साेलार वितरण गरिएकाे छ भने केही विद्यालयमा फर्निचर पनि सहयाेग  गरिएकाे छ । यस्तै दुई वर्षदेखि  रेस्पेरिफाई आरपीआई भन्ने सानो पकेट कम्प्युटरमा पनि कन्टेन्ट राखेर उपलब्ध गराउने गरिएकाे छ ।

यसका लागि संस्थालाई विभिन्न विकास साझेदारहरुले सहयोग गरिरहेका छन् ।

आवश्यक हाेइन अनिवार्य ई-लर्निङ

नेपालमा अहिले पनि प्रविधिमैत्री शिक्षण सिकाइ प्रणाली पूर्ण रूपमा स्थापित गर्छ चुनाैती छ । एक त घाेकन्ते विद्याकाे मानसिकता परिवर्तन हुन सकेकाे छैन भने अर्काेतर्फ सरकार पनि खासै उत्सुक देखिएकाे छैन । न स्पष्ट नीति छ न पर्याप्त पूर्वाधार नै ।

दक्ष तालिमप्राप्त जनशक्तिकाे पनि अभाव छ । विद्यालय भवन, कक्षाकोठा, फर्निचर प्रविधिमैत्री छैनन् । न त इन्टरनेटकाे व्यापक पहुँच नै पुगेकाे छ सबै जिल्लामा । बिजुली पनि गइरहन्छ । यस्ताे अवस्थामा प्रविधिमैत्री शिक्षण सिकाइ स्थापित हुन समय लाग्ने संस्थाका वरिष्ठ प्रबन्धक टीकाराज कार्की बताउँछन् । यी कुरा नीतिगत रुपमा अगाडि बढाइए मात्याेर सम्भव हुने उनकाे भनाइ छ ।

कार्यकारी निर्देशक रवि कर्माचार्य पूर्वाधार लगायतका समाधानका लागि नीति बनाएर एक्सनमै जानुपर्ने बताउँछन् । उनले भने, ‘हुन त कुनै पनि कुराकाे पर्फेक्ट साेलुसन भन्ने हुँदैन, गल्तीबाट पनि धेरै कुरा सिकिँदै जाने हाे । यद्यपी अन्तर्राष्ट्रिय तहको शिक्षा प्रणाली नेपालमा विकास गर्नका लागि अब स्पष्ट नीति बनाएर एक्सनमै जानुपर्छ ।’

यसका लागि केही संस्थाले मात्र काम गरेर पर्याप्त नहुने पक्कापक्की छ ।

प्रतिक्रिया