पूर्वपश्चिम राजमार्ग विस्तारमा कति भयो काम ?

  • पुष्प कोइराला

काठमाडौं । देशकै ‘लाइफलाइन’को रुपमा रहेको पूर्वपश्चिम राजमार्ग विस्तारको काम भइरहेको छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म तराई तथा भित्री मधेश हुँदै गएको १ हजार २७ किलोमिटर लामो यो राजमार्गलाई ७ वटा खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको हो । राजमार्गमा पर्ने बजार क्षेत्रमा ६ लेन (सर्भिस लेनसहित ८ लेन) र ग्रामीण तथा जंगल क्षेत्रमा ४ लेनको बनाउने गरी राजमार्ग विस्तारको काम भइरहेको सडक विभागले जनाएको छ ।

देशको सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने यो राजमार्ग देशको उत्तर र दक्षिणलाई जोड्न आधारमार्गको रुपमा पनि रहेको छ । देशको आर्थिक विकासका दृष्टिले समेत रणनीतिक मानिने यो राजमार्ग पूर्वी एसियालाई युरोपसम्म स्थलमार्गबाट जोड्ने रोड सञ्जालमा पनि समावेश छ । त्यस्तै, एसिएन रोड नेटवर्कमा नेपालको पूर्व-पश्चिमसहित केही उत्तर–दक्षिण मार्गसमेत परेकाले यसलाई अझ महत्वका साथ विस्तार गर्न लागिएको हो ।

एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराएको ऋण तथा अनुदार सहयोगबाट दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत पाँचवटा खण्डमा काम भइरहेको छ । त्यस्तै, विश्व बैंकको सहयोगमा दुईवटा खण्डमा काम हुने भएको छ । पूर्व-पश्चिम राजमार्ग विस्तारको सम्पूर्ण काम ७ वर्षसम्ममा सकिने प्रक्षेपण गरेर काम थालिएको सडक विभागले जनाएको छ ।

काँकरभित्ता–लौकही सप्तकोसीपूर्व खण्ड (१ सय २० किलोमिटर) रोड डिजाइन हुँदै 

यो खण्डमा राजमार्ग विस्तारको काम एडीबीको ऋण र अनुदान सहयोगमा भइरहेको छ । यो खण्डमा हाल परामर्शदाता कम्पनीले ‘रोड डिजाइन’को काम गरिरहेको छ । फिल्ड सर्वेक्षण, भौगर्भिक सर्वेक्षण, भौगोलिक प्राविधिक अध्ययन, भौगर्भिक अवस्था अध्ययनजस्ता काम सकिसकेको छ । अध्ययनबाट प्राप्त तथ्यका आधारमा राजमार्ग कुन स्तरको हुने र कहाँ कस्तो संरचना बनाउने भन्ने इन्जिनियरिङ अध्यययन र डिजाइनको काम भइरहेको छ । यो खण्डमा डिजाइनको काम सकिएपछि सडक निर्माण सुरु हुने सडक आयोजना निर्देशनालय एडीबीका प्रोजेक्ट डाइरेक्टर सुशीलबाबु ढकालले मकालु खबरलाई बताए ।

यो खण्डमा ६ ओटा पुललाई स्पेसनल ल्याण्डमार्क ब्रिज बनाउने गरी डिजाइन गरिएको डिजाइन गर्ने परामर्शदाता कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङका डेपुटी टिम लिडर इन्जिनियर प्रकाश उपाध्यायले बताए ।  ‘मिक्वा खोला, जुलिङ, रतुवा, कन्काई, महेन्द्रा र बक्राहा गरी ६ वटा नदीमा स्पेशन ल्याण्डमार्क ब्रिज बनाउने गरी डिजाइन भइरहेको छ,’ उनले भने । २०७८ सालको असारसम्म यो क्षेत्रको सबै काम सक्ने लक्ष्य छ । यही कम्पनीले यी खण्डमा सडक निर्माणका लागि ‘टेण्डर डकुमेन्ट’ तयार गर्न प्राविधिक सहयोग गर्ने र टेण्डर मूल्यांकनको काममा समेत सघाउने सम्झौता छ ।

कञ्चनपुर–कमला खण्डक (८७ किलोमिटर) राजमार्ग निर्माण सुरु गरिँदै

कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर खण्डमा एडीबीकै सहयोगमा राजमार्ग विस्तारको काम शुरु गर्न लागिएको छ । ‘यो खण्डमा ठेक्का सम्झौता भइसकेको छ,’ प्रोजेक्ट डाइरेक्टर ढकालले मकालु खबरसँग भने, ‘जोइन्ट सर्वे, डिजाइन रिभ्युलगायतका काम सकेर निर्माणमा सुरु गर्न लागिएको छ ।’

कमला–पथलैया खण्ड (१३० किलोमिटर) डिजाइनका लागि परामर्शदाता छनोट हुँदै 

यो खण्डमा विश्व बैंकको झण्डै ५० अर्ब रुपैयाँको लगानीमा सञ्चालित यो आयोजनामा स्ट्राटेजिक रोड कनेक्टिभिटी एन्ड ट्रान्सपोर्ट इम्प्रुभमेन्ट प्रोजेक्टअन्तर्गत काम भइरहेको छ । हाल यो खण्डमा अध्ययनको काम सकिएको छ । र, यसमा डिजाइनको कामका लागि परामर्शदाता छनोट गरी सम्झौता गर्ने प्रक्रियामा रहेको छ । परामर्शदाताको छनोटका लागि बोलपत्रमार्फत आएकाहरुको मूल्यांकन सकिएको र अब सम्झौता गर्ने तयारी भइरहेको सडक विभागको बैदेशिक सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले मकालु खबरलाई जानकारी दिए ।

पथलैया–नारायणगढ ख्ण्ड (१२० किलोमिटर) डिजाइन हुँदै

यो खण्डमा पनि राजमार्ग डिजाइनको काम भइरहेको छ । अध्ययन सकेर आएका तथ्यका आधारमा सडक खण्डमा आवश्यक पुल, कल्भर्टलगायत संरचनाको अवस्था, नयाँ संरचनाको आवश्यकताको आधारमा नयाँ संरचना बनाउनुपर्ने/नपर्ने अध्ययन गरी डिजाइनको काम भइरहेको छ । ‘भइरहेका पुलहरु ५० वर्ष पुराना छन्,’ डाइरेक्टर ढकालले भने, ‘ती पुल पनि प्रयोग गर्न मिल्छ कि नयाँ बनाउनुपर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।’

नारायणगढ–बुटबल खण्ड (११३ किलोमिटर) निर्माणाधीन

नारायणघाटदेखि बुटवलसम्मको ११३ किलोमिटर राजमार्गमा अहिले सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा ठेक्का व्यवस्थापन सकेर निर्माण शुरु गरिएको हो । यो खण्डमा पनि एडीबीले नै सहयोग गरेको छ ।

बुटबल–गोरुसिंगे खण्ड (५० किलोमिटर) डिजाइन हुँदै 

यो खण्डमा एसियाली विकास बैंककै ऋण सहयोगमा काम भइरहेको छ । हाल यो खण्डको ५० किलोमिटर सडकको डिजाइन गर्ने कार्य भइरहेको छ । डिजाइन सकिनासाथ सडक विस्तार सुरु गर्न खरिद प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ ।

गोरुसिङ्गे–गड्डा चौकी खण्ड (३९० किलोमिटर) विश्व बैंकले सम्भाव्यता अध्ययन गर्ने 

गोरुसिंगेदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ३ सय ९० किलोमिटर सडक विस्तारको सम्भाव्यता अध्ययन भने विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति भएको छ । सम्भाव्यता अध्ययनको काम सकिएपछि मात्र बाँकी काम अघि बढ्नेछ ।

प्रतिक्रिया