‘अहिले हटाए हटाओस्, आउँदो चुनावमा दुईतिहाइका साथ सिंहदरबार फर्किन्छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको बताएका छन् । मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन चुनौती दिएका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सोचेझैं सजिलो नभएको बताए । यदि केही गरेर हटाइ नै हालेपनि अर्को चुनावमा पुनः दुईतिहाइका साथ सिंहदरबार फर्किने ओलीले बताएका छन् । ‘मलाई हटाउन सजिलो छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हटाइ नै हाले भने पनि आउँदो चुनावमा पुनः दुईतिहाइका साथ सिंहदरबार फर्किन्छु ।’

आफूले २३ फागुनमा संसद्को अधिवेशन आह्वान गरेको बताउँदै प्रधानमन्त्री ओलीले अबको प्रक्रिया संसदबाटै शुरु हुने बताए । संसदमा सरकारको भूमिका रहने औंल्याउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राम्ररी संसद् अगाडि बढाउन खोज्ने मेरो काम हो । संसद्मा सरकारको भूमिका हुन्छ । अरुको होइन ।’

यसैबीच प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिने बताएका छन् । अरुको लागि कम्फर्टेबल भएर केही नहुने औंल्याएका प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपाली जनताका लागि कम्फर्टेबल सरकार चाहिन्छ, अरुको लागि होइन ।’ पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालमा नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिन्छ ।’

प्रतिक्रिया