कालीको काले ‘साथी’ र मेन्डोलिन

  •  दिक्षा कट्टेल

काठमाडौँ । पर्दामा ‘केमेस्ट्री’ देखिन वास्तविक जीवनमा पनि नजिकै हुनुपर्छ भन्ने हुँदैन । तर, को-एक्टरसँगको सहजताले भने काम साँच्चै नै अब्बल बन्छ । नाजिर हुसेन र स्वस्तिमा खड्का आफैँमा अब्बल कलाकार त हुन् नै, सँगै एकअर्काका मिल्ने साथी पनि हुन् । परिणामतः उनीहरुबाट हुने काम साँच्चै अब्बल हुन्छ । उनीहरुले मुना, मुखैमा रामराम बगलीमा छुरालगायतमा आफ्नो अभिनय स्तरको प्रमाण दिएका छन् ।

यही क्रममा उही जोडीको अभिनयमा म्यूजिकल फिल्म ‘काली’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको गीतलाई अभिनयमार्फत् नाजिर र स्वस्तिमाले न्याय गरेका छन् ।

अधिकांश युवतीको जीवनमा एउटा केटा साथी हुन्छ, जोसँग उसले सबै भावना साट्न सक्छे । अझ भन्दा दु:ख बिसाउने चौतारीको रूपमा केटा साथी रहेको हुन्छ । काली (स्वस्तिमा) को दु:ख बिसाउने चौतारी काले (नाजिर) बनेको छ । कालीको प्रेमी भने उसलाई छोडेर शहर गएको छ । ‘मेन्डोलिन’ को सहारामा काले काली सुखदु:ख साटासाट गर्छन् । कालेले बजाउँदा काली रमाउँछे । छोडेर गएको प्रेमी लामो समय सम्पर्कमा आउँदैन । याद मेटाउन कालेले गीत गाउँछ । दुई हप्ता पछि कालीको प्रेमीले अर्कै केटीसँगको तस्वीर फेसबूकमार्फत् सार्वजनिक गर्छ । यो वेदना साट्नसमेत कालेकै साथको खाँचो छ । अन्तमा कालीले अब नरुने र काले ‘साथी’ सँगै खुसी हुने बताउँछे । गीत सकिन्छ ।

केटा मिल्ने साथीले उसको केटी साथीलाई माया गरेको दुनियाँलाई थाहा हुन्छ । तर,  त्यही केटीलाई भने थाहा हुन्न भन्ने प्रचलन युवा पुस्तामा चलेकै छ । यही विषयको चित्रण भिडियोमा गरिएको छ ।

भिडियोमार्फत् कथा भन्ने प्रचलनअन्तर्गत नै थोरै भिन्न प्रयास निर्देशनमार्फत् हरि हुमागाईँले गरेका छन् । गीतमा पुष्पनको स्वर शब्द र सङ्गीत रहेको छ  ।  पुष्पन कै कथा र कन्सेप्ट रहेको भिडियो उत्तम प्रधानले खिचेका हुन्  ।

प्रतिक्रिया