फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुईका दरले मूल्यवृद्धि गरिएको हाे ।

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँचले वृद्धि गरी ७२ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिनेछ ।

मूल्य समायोजनपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जाडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल लिटरमा ३५ रुपैयाँ ९३ पैसा र डिजल प्रति लिटर ४२ रुपैयाँ ७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ । निगमले यसअघि यही फागुन ४ गतेपनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो ।

इण्डियन आयल कर्पोरेशनले साेमबार पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ ।

प्रतिक्रिया