‘नक्कली प्रमुख सचेतकले ह्वीप जारी गरी निकाल्छु भन्दा कसले पत्याउँछ ?’

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताएका छन् ।

आइतबार रिपोटर्स क्लबमा पत्रकारहरुसँगको साक्षात्कारमा नेता रावलले यस्तो बताएका हुन् । ‘दलको सदस्य हटाउने धम्की दिनुभएको छ उहाँले,’ नेता रावलले भनेका छन्, ‘समानुपातिक सांसद हटाइदिन्छु । उहाँलाई हटाउँछौ अब हामी । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई कारबाही गर्छौँ, यो बुझिराख्नुस् । दलको सदस्यता समाप्त गर्नुपर्ने अवस्थामा सोको लागि पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने । मैले ह्वीप जारी गरेर त्यहाँ सदस्यबाट निकाल्छु भन्ने कुरा कति झुठ, भ्रमपूर्ण, धम्की दिएपछि केही सदस्यहरु उफ्रिएर बालुवाटारतिर लाग्छन् कि भन्ने कति जनतालाई ढाँट्ने कुरा रहेछ । दलका नेता कुनै सदस्यलाई निकाल्नको लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्छ । दुईतिहाई सदस्य हामीसँग छन् । अनि यहाँ आएर नक्कली प्रमुख सचेतकले म ह्वीप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ?’

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार दाहाल–नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गरेका छन् । ‘हामी स्वतः आधिकारिक हौँ,’ नेता रावलले भनेका छन्, ‘पार्टीको विधानअनुसार पनि हामी वैधानिक छौँ । हामी बहुमतमा छौँ ।’

यस्तै नेता रावलले निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित आफूहरु उपस्थित हुनसक्ने बताए । उनले भनेका छन्, ‘निर्वाचन आयोगले भनेको खण्डमा हामी नागरिकताको प्रमाणपत्रसहित स–शरीर उपस्थित हुन पनि सक्छौँ ।’

 

प्रतिक्रिया