कोमल वलीबारे आफ्नो अभिव्यक्तिबारे रघुजी पन्त भन्छन्- त्यो ठूलो ‘इस्यू’ होइन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले केपी शर्मा ओली नेतृत्वको नेकपाकी नेतृ कोमल वलीमाथि गरेको टिप्पणी सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।

भिडिओमा पन्तले भनेका छन्, ‘२०औं वर्षदेखि बिहे नै नगरी पार्टीमा योगदान गरिरहेकाहरु पनि छन् तर उनीहरुले मौका पाएनन् । पिडुँला देखाउँदै पोइल जान पाउँ भनेपछि केपी ओलीले कोमल वलीलाई सांसद बनाए ।’ नेता पन्तले वलीले पिडुँला  देखाएको भरमा केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्यको पद प्राप्त गरेको बताएका भिडियो सार्वजनिक भएसँगै यो विषयमा पन्तको आलोचना गरिएको छ ।

अभिव्यक्तिबारे जिज्ञासा राख्दा पन्तले ‘यो ठूलो इस्यू’ नभएको बताए । ‘त्यो ठूलो इस्यू होइन,’ मकालु खबरसँग पन्तले भने, ‘त्यसलाई छोडौँ ।’

वलीले भने पन्तमा दरिद्र सोच भएको पुष्टि भएको बताएकी छन् । ‘नेकपाका नेता रघुजी पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ, उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ ।’ वलीले बताएकी छन् ।

यस्तै वलीले पन्तलाई ‘तपाईँको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को–कसलाई पिडुँला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’ भनि प्रश्नसमेत सोधेकी छन् ।

ट्वीटर लगायत सामाजिक सञ्जालमा नेता पन्तले टिप्पणीका क्रममा प्रयोग गरेका शब्द गलत भएको भन्दै चर्को आलोचना भएको छ । धेरै जनाले वलीको राजनीतिक योगदान कम भएको सत्य भएपनि पन्तको टिप्पणी गर्ने शैलीप्रति प्रश्न उठाएका छ्न ।

प्रतिक्रिया