विवाह पछिको प्रियङ्काको ‘सुन्दर’ एक वर्ष

काठमाडौँ । प्रियङ्का कार्कीको लागि आज विशेष दिन । आज उनको जन्मदिन साथै वैवाहिक वर्षगाँठ । खुसी साट्न श्रीमान् आयुष्मान जोशीको साथ उनी एक हप्ताका लागि मालदिभ्समा छिन् ।

विवाह लगत्तै कोरोना भाइरसका कारण लकडाउन भयो । यो लकडाउनको समय करिब एक वर्ष यी दुईले एक अर्काको साथमा नयाँ अनुभव सँगाले । एक प्रकारले भन्दा यो जोडीलाई विवाह पछिको समय गुणस्तरीय बन्यो ।

विवाह अगि र पछि धेरै गसिप बने । बर्षौ अघिका विषय उठाइएर मजाक बनाइयो । तर महत्त्वपूर्ण कुरा उनीहरूले एक अर्कालाई बुझे, साथ दिए र एक अर्कालाई माया गरिरहे । उनीहरूको माया हँसिलो अनुहारमा अनि काममा झल्किन्छ । एक अर्काको साथले यी दुई अझ व्यवहारिक र शान्त बन्दै गएका छन् । मुख्य कुरा यी दुईले खुलेर जिउन जानेका छन् । ‘माया’ ले जीवन बुझ्न सहायता गरेको भन्न सकियो ।

विवाह भयो । दुईले आफ्नो लागि छुट्टै घर लिए । अभावमा जिए । परिस्थितिले अभावमा जिउन मात्रै सिकाएन जिम्मेवारी बहन गर्ने बनायो । एक अर्कालाई बुझ्दै, पारिवारिक र कार्यगत सम्बन्ध दर्बिलो बनाउँदै छन्, यी दुई । घर भित्रै बसेर धेरै उपलब्धिमूलक काम गरिरहे । अझै पनि गरिनै रहेका छन् ।

पहिलो पटक उनीहरू चलचित्र निर्माण गर्दै छन् ‘वसन्त’ । परिवारकै पूर्ण सहयोगमा चलचित्रको काम अगाडी बढ्दै छ ।

समग्रमा प्रियङ्काको जीवन यो एक वर्षको अवधिमा अझ सुन्दर बनेको छ । उनलाई आगामी जीवन साथै जन्मदिन र वैवाहिक वार्षिकोत्सवको शुभकामना ।

प्रतिक्रिया