सिडियोको सरुवाले विपद्पछिको पुनर्निर्माण र छाउगोठ हटाउने काम प्रभावित हुने

काठमाडौं । गृह मन्त्रालयले एकैसाथ ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सहित सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ ।

यससँगै विभिन्न जिल्लामा सञ्चालित विपदपछिको पुुनर्निर्माण, छाउगोठ उन्मूलन कार्यक्रमलगायतका काम प्रभावित हुने भएका छन् ।

सरकारले शुक्रबार रसुवा, सिन्धुपाल्चोक, धादिङ, दोलखा, नुवाकोट, म्याग्दी, बाग्लुङ, अछामलगायत जिल्लाका सिडियोको सरुवा गरेको छ । यी जिल्लामा सरकारले नै सञ्चालन गरेको मनसुनजन्य विपद प्रभावित व्यक्तिका निजी घर पुनःनिर्माणको काम चलिरहेको छ । जसअन्तर्गत बाढीपहिरोले भत्काएका घरहरु पुनःनिर्माणको काम चलिरहेको छ ।

गृहमन्त्रालय श्रोतका अनुसार नयाँ सिडियो गएपछि यी जिल्लामा पुनःनिर्माणको काम पछाडि धकेलिने भएको छ । ‘अहिले कार्यरत सिडियो सापहरुलाई भर्खरै तालिम दिइसकेर काममा केही गति आइरहेको थियो यही बेला सरुवा भयो भन्ने खबर आयो’, गृह मन्त्रालयको उच्च श्रोतले मकालु खबरसँग भन्यो, ‘अब नयाँ सिडियो सापहरुलाई फेरि तालिम दिने लगायत काम गर्नुपर्ने भएकाले विपद पछिको पुनर्निर्माणको काम धकेलिने भयो ।’

सरकारले तराइका जिल्लामा ४ लाख पहाडका जिल्लामा ५ लाख र हिमाली जिल्लामा ६ लाख रुपैयाँसहित गएको जेठदेखि असोज ३० गतेसम्म बाढीपहिरो लगायत मनसुनजन्य विपद्ले भत्काएका घरको पुनर्निर्माणको काम भइरहेको छ ।

यही कार्यक्रम अन्तर्गत अहिले ती जिल्लाहरुमा तथ्याँक संकलन, सर्वेक्षण र योजना बनाउने काम अघि बढिरहेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको प्रमुख हुने भएकाले पनि यसको समन्वय प्रमुख जिल्ला अधिकारीले गर्ने गरेका छन् । यो कार्यक्रममा स्थानीय तह प्रदेश र संघीय तीनै तहका सरकारको कोषको काम अघि बढाइरहेका बेला प्रमुख जिल्ला अधिकारीको सरुवाले काम प्रभावित हुने भएको हो ।

छाउपडी उन्मुलनको कार्यक्रम के हुने हो भन्ने चिन्ता
सरुवा भएको छ महिनामै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायको सरुवा भएको छ ।

सामान्यतया १ वर्षमा सरुवा हुने मानिने भए पनि गृह प्रशासनले राजनीतिक लगायत दबाबका आधारमा छिटोछिटो सिडियोको सरुवा गर्नाले समस्या हुने गरेको अनुभव छ । उपाध्यायालाई धादिङको सहायक सिडियो बनाएर सरुवा गरिएको छ ।

सरकारले १९ जिल्लामा छाउपडी उन्मुलन कार्यक्रम लागू गरेपनि हाललाई उपाध्यायले मात्र निरन्तरता दिइरहेका थिए । ६ महिनामा एक दिन पनि विदा नबसि खटिएका सिडियो उपाध्याय आफैँ छाउ गोठ भत्काउन गाउँ गाउँमा पुग्ने गरेका थिए । त्यस्तै आगामी नारी दिवसको अवसर पारेर उनले राष्ट्रिय चित्रकला प्रतियोगिता पनि आयोजना गरेका थिए ।

६ महिनामै सरुवा भएपछि उनको अग्रसरतामा भइरहेको छाउगोठ मुक्त अछाम बनाउने अभियान के हुन्छ भन्ने अन्यौल भएको हो । टेलिफोन सम्पर्कमा मकालु खबरलाई अछामका एक सामाजिक कार्यकर्ताले भने, ‘अहिलेको सिडियोले स्थानीय परिवेश बुझेर र स्थानीयबासिन्दालाई बुझाएर छाउगोठ उन्मुलनका लागि धेरै नै काम गर्नुभएको थियो, उहाँको सरुवा भएको भन्ने सुनेर छक्क परेको छु, नयाँ सिडियोले यही स्पिरिटमा काम गर्छन् भन्न सकिने अवस्था छैन, किनभने यस पहिले पनि धेरै सिडियोहरु आएका हुन् ।’

उपाध्यायले जिल्ला प्रशासन कार्यालयको सेवा लिन आउने सेवाग्राहीलाई छाउगोठ नराख्न आग्रह गर्नुका साथै सेवा प्रवाहमा घरमा छाउगोठ भए/नभएको वडाको सिफारिसका आधारमा मात्र सेवा दिने नियम बनाएका थिए ।

प्रतिक्रिया